पोसाकबिनै म्यादी प्रहरी ड्युटीमा (फोटोफिचर)



बाँके ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा पोसाकबिनै म्यादी प्रहरीहरु परिचालन भएका छन् । पोसाक अभावमा म्यादी प्रहरी सादा पोसाकमै निर्वाचन सुरक्षाका लागि परिचालन भएका हुन् । जिल्लाभरि नै निर्वाचन सुरक्षाका लागि केही दिनअघिबाटै नै म्यादी प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले केन्द्रबाटै पोसाक नआउँदा म्यादी प्रहरीलाई सादा पोसाकमै निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको बताए ।

‘माथिबाट नै म्यादी प्रहरीका लागि पोसाकलगायतका सामान आउन ढिलाइ भयो,’ उनले सोमबार साँझ मिसन टुडेसँग भने, ‘भर्खर कार्यालयमा पोसाकलगायतका सामान झरेका छन् । मंगलबारबाट वितरण सुरु हुन्छ होला ।’ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह चुनावको लागि बाँकेमा एक हजार ६ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

जिल्लाका आठवटै निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार उम्मेदवारी दर्ता कार्यक्रमको लागि म्यादी प्रहरीसमेत परिचालन भएका थिए । पोसाकबिनै डियुटीमा खटिँदा असजिलो महसुस हुने गरेको म्यादी प्रहरीहरु बताउँछन् । ‘भीड हुने क्षेत्रमै सुरक्षाका लागि हामीसमेत प्रहरीसँगै खटिएका छौं,’ एक म्यादी प्रहरीले भने, ‘एउटा लठ्ठीको भरमा सादा पोसाकमा खटिँदा मान्छेले हेप्ने गर्छन् । पोसाक पाए डियुुटी गर्न सजिलो हुन्थ्यो ।’

म्यादी प्रहरीले पोसाकसँगै जुत्ता, झुल, सिलपिङ ब्याकलगायतका सामान पाउने गरेका छन् । अहिलेसम्म बाँकेमा भर्ना गरिएका म्यादी प्रहरीले उल्लेखित कुनै सामानसमेत पाएका छैनन् । ‘म्यादी प्रहरीलाई आवश्यक सामान नहुँदा समस्या भएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘जिल्ला प्रहरी कार्यालयको नियत नभइ केन्द्रबाटै ढिलाइ हुँदा वितरण हुन सकेको छैन ।’

No description available.

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार