नेपालगञ्ज :
नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा कांग्रेस जसपा गठबन्धन कायम भएको छ । सत्ता गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी पार्टी गठबन्धनमा सहभागी भएनन् ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनको विजय सुनिश्चित भैसकेको बताए ।
उनले गठबन्धनको कुनै पनि दलसंग प्रतिष्पर्धा नरहेको दावी गर्दै अन्य दलले दोस्रो हुनका लागि प्रतिष्पर्धा गर्ने बताए ।
उनले काँग्रेस र जसपाले मिलेर यहाँ स्थानीय सरकार बनाउने र नेपालगञ्जलाई सबैले वाहवाही गर्न लायक सहर बनाउने प्रतिवद्धता जनाए ।
यस्तै सोही अवसरमा उपमेयरका उम्मेदवार जसपाका जिल्ला अध्यक्ष कमरुद्दीन राईले पनि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै गठबन्धन जोगाउन नै आफुले मेयरको दावीबाट एक कदम पछाडी हटेर उपमेयर स्वीकार गरेको बताए ।
मेयर र उपमेयर नपाएपछि नेकपा माओवादी केन्द्रले सत्तागठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो
जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेककिपा र नेकपा एकिकृत समाजवादी पार्टीले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्