महिला कलेज सञ्चालनमा नआउँदै उद्घाटन



नेपालगन्ज ।

नेपालगन्जमा भवन निर्माण सम्पन्न भएको मंगलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । कलेजमा अध्यापन हुने विषयहरुको टुंगो नलाग्दै कलेजको उद्घाटन गरिएको हो । अहिलेकै स्थितिमा कलेजमा वर्तमान जनप्रतिनिधिहरुको कार्यकालमा कलेजमा पठनपाठन सुरु हुने अवस्था छैन । आफ्नो पालामा निर्माण भएको भवनको उद्घाटन जनप्रतिनिधिले हतार गरेका छन् ।

महिला कलेजलाई मेयर डा. धवलशमशेर राणाको ड्रिम प्रोजेक्टका रुपमा चित्रित गर्ने गरिएको छ । कलेजको एक कार्यक्रमकाबीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादव कोइरालाले उद्घाटन गरे । उद्घाटनका क्रममा शुभकामना मन्तव्य राख्दै उपकुलपति प्राडा कोइरालाले विश्वविद्यालयले कलेजलाई सम्बन्धन दिने नदिने यकिन नभएको बताए ।

उनले भने, ‘म यहाँ आउनुको अर्थ यो होइन कि कलेजले सम्बन्धन पाउँछ । त्यसका लागि हाम्रो सम्भाव्यता अध्ययन टोली यहाँ आउँछ । अध्ययन गरेर सम्बन्धन दिन उपयुक्त देखेमा मात्रै सम्बन्धनको निर्णय हुन्छ ।’ यद्दपि उनले कलेजलाई सम्बन्धन दिन आफूहरु सकारात्मक रहेको बताए । उपकुलपति कोइरालाले कलेजको पूर्वाधारको अनुगमन पनि गरेका थिए ।

मंगलप्रसाद माविले उपलब्ध गराएको १२ कठ्ठा जमिनमा नेपालगन्ज उपमहानगरपालिकाले करिब ६ करोड लागतमा भवन निर्माण गरेको छ । जसमा ४० वटा कोठा छन् । फर्निचर र कक्षा कोठाका शैक्षिक साधनहरु र एउटा कम्प्यूटर ल्याब तयार भइसकेको छ ।

कलेजका प्रमुख रवीन्द्र कर्ण भन्छन्, ‘जनशक्तिको तयारी पनि लगभग भइसकेको छ । अब विश्वविद्यालयले सम्बन्धन दिएमा एक डेढ महिनामै कक्षा सञ्चालन गर्न हामी तयार छौं ।’ सम्बन्धका लागि पहिले मध्यपश्चिम विश्वविद्यालयसँग प्रयास गरिए पनि सफल हुन सकेको थिएन । अहिले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धनका लागि आवेदन दिइएको छ ।

आवेदनमा व्यवस्थापन संकायतर्फ बिबिएस र बिबिए, शिक्षा संकायतर्फ बिएड, कानुन संकायतर्फ बिए एलएलबी र विज्ञान संकायमा बिसिए र बिआइटी विषयका लागि अनुमति मागिएको छ । कलेजको उद्घाटनका लागि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले छोरीहरुलाई अन्य कलेजमा पढाउन नचाहने नेपालगन्जको विशिष्ट अवस्थालाई मध्यनजर गर्दा महिला कलेजको स्थापना सुखद भएको बताएका थिए ।

विशेषगरी मधेसी तथा मुस्लिम समुदायका छोरीहरुलाई उच्च शिक्षाका लागि महिला कलेज प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।कार्यक्रममा बोल्दै नेपालगन्ज उयपमहानगरपालिकाका मेयर डा. राणाले कलेज यस क्षेत्रकै लागि महŒवपूर्ण उपलब्धि भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार