बर्दिया बाँसगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एमालेले मेयर पदका उम्मेदवार टुंगो लगाएका छन् । माओवादीले मेयर र उपमेयर दुवै उम्मेदवार सर्वसम्मतरुपले छनोट गरेको छ भने एमालेले मेयर सर्वसम्मत टुंगो लगाएको हो ।
मेयरमा माओवादीले भुवनकुमार चौधरी (किशोर) र उपमेयरमा भूमि बिटालुलाई अगाडि सारेको छ । नेकपा (माओवादी केन्द्र) बाँसगढीका युवा नेता रेशम अधिकारीले दुवैजनाको नाममा सहमति जुटेको जानकारी दिए । ‘सर्वसम्मतरुपमा नै दुवैजनालाई उम्मेदवार बनाइएको हो,’ उनले भने, ‘माथिल्लो कमिटीमा दुवैजनाको नाम सर्वसम्मत पठाएर चुनावमा होमिसकेका छौं ।’
नेकपा एमालेले बाँसगढीको मेयरका लागि खडकबहादुर खड्कालाई अगाडि सारेको छ । एमाले बाँसगढीका एक नेताका अनुसार खड्काको एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको छ ।
‘सर्वसम्मतरुपमा नै हामीले मेयरमा नाम सिफारिस गरेर माथिल्लो कमिटीमा पठाएका हौं,’ उनले भने, ‘उपमेयरमा धेरैजना आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ । चाडै नै टुंगो लाग्छ ।’ एमालेबाट बाँसगढीको उपमेयरको लागि वर्तमान उपमेयर सुष्मा चौधरी, देवीमाया बस्याललगायत आकांक्षी रहेका छन् ।
यस्तै बाँसगढी नगरपालिकाको मेयरको लागि नेपाली कांग्रेसबाट आठजनाले आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस बाँसगढीले मेयरमा आकांक्षी देखाएका आठजनाको नाम माथिल्लो समितिमा सिफारिस गरेको हो । कांग्रेसबाट नगरको उपमेयरमा सातजनाले आकांक्षा देखाएका छन् ।
मेयर र उपमेयरमा धेरैजना आकांक्षी हुँदा नेपाली कांग्रेस बाँसगढी नगर समितिले आकांक्षीहरुको नाम माथिल्लो तहमा सिफारिस गरेको छ । मेयरको लागि सविनकुमार थापा, गंगाधर पौडेल, पुष्पलाल श्रेष्ठ, अमृत देवकोटा, तिलक विसी, देवीलाल न्यौपाने, जावेदा खातुन र सोदे विष्टको नाम माथिल्लो तहमा सिफारिस भएको छ । उपमेयरको लागि इन्द्रीरा रिजाल, माया पौडेल, लोहारी थारु, शान्ति गैरे आकाश थारु (सोमति), मानबहादुर ओली र रत्न चौधरीको नाम सिफारिस गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्