कोहलपुरको मेयरका लागि प्रदीपको बलियो दाबेदारी



बाँके ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कोहलपुर नगरपालिकाको मेयरका लागि नेता प्रदीपकुमार शाहले दाबी गरेका छन् । आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कोहलपुरमा राप्रपाबाट शाहले मेयरमा दाबी गरेका हुन् ।

राप्रपा बाँकेका जिल्ला समिति सदस्यसमेत रहेका शाहले आफ्नो प्रचारप्रसारसमेत सुरु गरिसकेका छन् । राप्रपाबाट मेयरका लागि दाबी रहेको भन्दै शाहले आफूले प्रचारप्रसारसमेत सुरु गरिसकेको मिसन टुडेलाई जानकारी दिए ।

मेयरका दाबेदार शाहले कोहलपुरको विकासका लागि विभिन्न एजेण्डासमेत अगाडि सारेका छन् । ‘राप्रपाबाट कोहलपुरको मेयरको उम्मेदवार मै हुन्छँु,’ उनले भने, ‘पार्टीले मलाई नै टिकट दिन्छ भन्ने लागेर मैले प्रचार प्रसार सुरु गरिसकेको छुँ ।’

राप्रपाबाट मेयरको दाबेदार रहेका शाह कोहलपुरका सफल व्यवसायी हुन् । उनी समाजसेवीका रुपमा समेत चिनिन्छन् । उनी २०३८ सालदेखि २०४५ सालसम्म तत्कालीन पञ्चायतको राप्ती अञ्चल युवक संगठनको सभापति भएर काम गरेका थिए ।

कोहलपुरलाई ग्रीन सिटी बनाउन, स्वास्थ्य शिक्षा खानेपानीको बृहत् विकास, सुकुम्बासीको समस्या व्यवस्थापन, भ्रष्टाचार उन्मूलन, फोहोरमैला व्यवस्थापन, ढल निकासको समस्या दीर्घकलीनरुपमा समाधान गर्नेलगायत काम गर्न आफ्नो उम्मेदवारी रहने शाहले जनाए ।

‘२१ वर्षको उमेरमा पहिले नै पञ्चायतकालमै युवकको अञ्चल सभापति भइसकेको व्यक्ति हुँ । त्यहीबेला काम गरेको मसँग अनुभवसमेत छ,’ उनले भने, ‘त्यसैले कोहलपुरको मेयरमा मैले उम्मेदवारी दिने निर्णय गरेको छुँ । यसमा पार्टीले पनि पक्कै सहयोग गर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार