कोहलपुर नगरपालिकाको मेयर र उपमेयरका लागि नेपाली कांग्रेसले आकांक्षीको नाम सिफारिस गरेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि कांग्रेसले कोहलपुरको मेयरका लागि १३ जना र उपमेयरका लागि पाँचजनाको नाम सिफारिस गरेको हो ।
केन्द्रीय परिपत्रानुसार नै माथिल्लो तहमा आकांक्षीहरुको नाम सिफारिस गरिएको नेपाली कांग्रेस कोहलपुर नगर समितिका सभापति वीरेन्द्र शाहले जानकारी दिए ।
उनका अनुसार मेयरमा बलराम शर्मा, भानुभक्त भट्टराई, पूर्ण आचार्य, चिन्तामणि धिताल, सञ्जुकुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निमबहादुर चलाउने (निरज), भुम भण्डारी, चुडामणि कँडेल, नरबहादुर मल्ल र जागेश्वर थारुको नाम सिफारिस गरिएको छ ।
यस्तै कोहलपुरको उपमेयरको उम्मेदवारको लागि अञ्जना पाण्डे, मीना सिग्देल, द्रोपती ओली, केशकुमारी ओली र संगीता पौडेलको नाम सिफारिस गरिएको नगर सभापति शाहले जानकारी दिए । कोहलपुरको मेयर र उपमेयरको लागि कांग्रेसभित्र धेरैजना आकांक्षी भएपछि सर्वसम्मतरुपमा उम्मेदवार छनोट हुन नसकेको हो ।
मेयर र उपमेयरका दाबेदार पछि नहटेपछि सबैको नाम माथिल्लो तहमा सिफारिस गरिएको नेपाली कांग्रेस कोहलपुर समितिले जनाएको छ । नेपाली कांग्रेसको विधानअनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ ।
अधिकार प्रदेश संसदीय समितिलाई रहे पनि कोहलपुर नगरपालिकाको मेयर र उपमेयरको टिकट कसलाई दिने भन्ने निर्णय केन्द्रबाट हुने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।
यस्तै बाँकेका अन्य पालिकाले समेत आकांक्षीहरुको नाम माथिल्लो तहमा सिफारिस गरिसकेका छन् । कांग्रेसका सम्बन्धित पालिका समितिहरुले आकांक्षीहरुका नाम माथिल्लो तहमा सिफारिस गरेर पठाएका हुन् ।
अहिलेसम्म कोहलपुरसहित नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकाले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेर पठाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्