बाँकेसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा (लू) चल्ने भएको छ ।
भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स)द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ ।
तीन दिनसम्म तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । जलवायु तथा विपद विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने जानकारी दिए ।
उनका अनुसार ४० डिग्री वा सोभन्दा माथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ ।
उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको उनले बताए ।
छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने प्रचूर सम्भावना रहेको जलवायु विज्ञ डा. उप्रेती बताउँछन् ।
उनका अनुसार नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको छ । १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको उनले जानकारी दिए ।
‘खास गरेर यो वर्षमा तापक्रम चैतको सुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ,’ जलवायुविज्ञ डा. उप्रेतीले भने, ‘अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ ।
त्यो कुरालाई वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेसन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ ।
अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो ।’
अहिले चुुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान उनले सुझाव दिए । उनले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताए ।
अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको चिकित्सक बताउँछन् ।
लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्