बाँकेमा सत्तारुढ दलबीच गठबन्धन गर्न कांग्रेसको अनिच्छा



नेपाली कांग्रेसले माओवादीले दाबी गरेका नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी नछोड्ने अडान लिएको छ । माओवादीलाई खजुरा र नेकपा नेकपा एसलाई बैजनाथ छोड्न सकिने भएपनि अरु स्थानीय तहमा कांग्रेसले अड्डी कसेको छ ।

कांग्रेसले पनि छोड्न नमान्ने र अरु दलले पनि कांग्रेसको बलियो सम्भावना देखिएका स्थानीय तहमा दाबी गरेपछि गठबन्धनको प्रयास असफल भएको हो ।

बीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेमा आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनको प्रयास असफल भएको छ । जिल्लास्तरीय समितिले नै स्थानीय तहका प्रमुख र उपप्रमुख कसलाई दिने भन्ने टुंगो लगाउनेगरी थालिएको गठबन्धनको प्रयास अन्ततः ‘मित्रवत् व्यवहार गर्नेगरी’ निर्वाचनमा जाने भन्ने निर्णयमा टुंगिएको हो ।

शुक्रबार अबेरसम्म चलेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले स्थानीय तहहरुको भागबण्डाको टुंगो लगाउन सकेन । अन्तमा ‘स्थानीय अवस्था र आवश्यकता बमोजिम गठबन्धन भित्रका दलसँग मात्र तालमेल गरेर निर्वाचनमा जाने सर्वसम्मत निर्णय गरियो । चुनावी तालमेल गर्दा गठबन्धन दलहरुकाबीच मित्रवत व्यवहार गर्नेगरी गरिनेछ,’ कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेल नेतृत्वको जिल्लास्तरीय संयन्त्रको बैठकले गरेको निर्णयमा भनिएको छ ।

यो निर्णयपछि अब जिल्लास्तरीय संयन्त्रको बैठक बसिराख्नु जरुरी नभएको नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीले बताए । ‘अब त्यो बैठक गरिराख्नु जरुरी भएन,’ मिसन टुडेसँग अधिकारीले भने, ‘जस्तो अब कुनै वार्डमा जरुरी भयो गठबन्धन दलहरुसँग भने त्यही वार्डलेभलको प्रमुख व्यक्तिहरुले कुरा गर्नुहुन्छ ।

पालिका लेभलको जरुरी भो, पालिका लेभलका हाम्रा नेताहरु बसेर त्यहाँ तालमेल गर्न सक्ने भए ।’ जिल्लास्तरीय संयन्त्रले अब तल्लोस्तरको निर्णयलाई अनुमोदन गर्ने वा समन्वय मात्रै गर्ने उनले बताए ।

गठबन्धनमा कांग्रेसको अनिच्छा

यता गठबन्धनका अरु दलका नेताहरु कांग्रेसको गठबन्धन गर्ने मनसाय नदेखिएको बताउँछन् । नेकपा (एकिकृत समाजवादी) नेता अशोक कोइराला जिल्ला स्तरीय संयन्त्रको अध्यक्षता गरिरहेको कांग्रेसले गठबन्धन गर्ने कुरालाई व्यवस्थापन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् । ‘कांग्रेस ठूलो शक्ति र यो सबै कुराको अलिकति व्यवस्थापन कांग्रेसले गर्नुपर्ने हो ।

कांग्रेसबाट त्यो खालको समस्या देखिएको छ । त्यसो हुँदाखेरि हामीले कांग्रेसलाई भनेका छौँ, तपाईहरु सहमत हुने हो भने अलिकति रिजिड (कठोर) हुनुभएन’ कोइरालाले भने । नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सहसचिव अक्कलबहादुर बम पनि कांग्रेसले पहिले जितेको र उपविजेता भएको भन्ने तर्कका आधारमा राम्रो स्थान चाहिन्छ भन्ने अडान लिएको बताउँछन् ।

तर अहिले पहिलेकै मतका आधारमै सबै निर्णय हुनुपर्छ भन्नु नसुहाउने उनको भनाइ छ । ‘खजुरामा कसैसँग गठबन्धन नगरेर पनि हामीले जित्न सकिने आधार बन्या छ । नेपालगन्जमा पनि अहिले नराम्रो छैन । संगठन सुदृढ छ । राप्ती सोनारी र कोहलपुरमा पनि साथीहरुको त्यही नै माग छ,’ उनले भने । तर नेपाली कांग्रेसले माओवादीले दाबी गरेका नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी नछोड्ने अडान लिएको छ ।

माओवादीलाई खजुरा र नेकपा एसलाई बैजनाथ छोड्न सकिने भएपनि अरु स्थानीय तहमा कांग्रेसले अड्डी कसेको छ । कांग्रेसले पनि छोड्न नमान्ने र अरु दलले पनि कांग्रेसको बलियो सम्भावना देखिएका स्थानीय तहमा दाबी गरेपछि गठबन्धनको प्रयास असफल भएको हो ।

आफ्नो बलियो भाग नपाउने अवस्था आएपछि केही दिन पहिले नै गठबन्धनबाट जसपा बाहिरिसकेको छ । कांग्रेसको सुरुदेखि नै गठबन्धन गर्ने मनसाय नभएको बुझेर आफूहरु बाहिरिएको जसपा अध्यक्ष कमरुद्धिन राई बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार