बाँके र बर्दियामा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शनिबार कोहलपुर सुर्खेत सडक खण्डको चौराह नजिकै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको थियो ।
सोही दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का एकजना गम्भीर घाइते भएका छन् । कौशिलानगरबाट कोहलपुर आउँदै गरेको भे २ त ९३९ नम्बरको ट्रयाक्टरले कोहलपुरतर्फ नै आइरहेको भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रयाक्टरको ठक्करबाट मृत्यु हुनेमा बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगी रहेका छन् । सोही दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँकै ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
ट्रयाक्टर चालकको सवारी चालक अनुमतीपत्र लाइसेन्स नभएको सुरक्षा स्रोतले जनाएको छ । मृतक तथा घाइतेका आफन्तले कोहलपुरमा विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए । मृतकलाई उचित क्षतीपूर्ती, घाइतेको निःशुल्क उपचार, दोषीलाई कारबाहीको माग राख्दै उनीहरुले नेपालगन्ज कोहलपुर सडक बन्द समेत गराएका थिए ।
यस्तै बर्दियाको बाँसगढीमा दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बाँसगढी नगरपालिका– ८ मा से ७ प ५६९० नम्बरको मोटरसाइकल र भे ६ प ५०२२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका– १ भुरिगाउमा ५० वर्षीय कर्णबहादुर थापा रहेको स्थानीय प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । सोही ठाउँकी ३५ वर्षीय चन्द्रा थापा, बझाङ छलारा गाउँपालिका–८ का २० को विसाल जोशी सोही ठाउँ बस्ने २० वर्षीय नरदेव जोशी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्