बाँकेको टीकुलीपुरमा भीषण आगलागी हुँदा शुक्रबार ११ वटा घर र चारवटा गोठ जलेर नष्ट भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मा पर्ने टिकुलीपुरमा एक घरबाट सुरु भएको आगो बस्तीभरि फैलिएको थियो ।
आगलागीका कारण ११ वटा घर र चारवटा गोठ जलेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार शुक्रबार दिउँसो २ बजेबाट सुरु भएको आगो बस्तीभरि फैलिएको थियो ।
दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागीका कारण ९७ लाख बढीको क्षति भएको अनुमान गरिएको डिएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए ।
‘आगोले घरगोठ जल्दा ९७ लाखको क्षति भएको अनुमान गरिएको छ,’ उनले भने, ‘पूर्ण क्षतिको संकलन भइरहेको छ । शनिबारसम्म पूर्ण क्षतिको विवरण आउँला ।’ जलेका ११ घरमध्ये तीन घर परिवार मात्र विस्थापित भएको डिएसपी मल्लले बताए ।
घर जलेका मध्ये सातजनाको अन्य स्थानमा समेत घर रहेछ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्