नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा साझेदारीको अभियान सुरु गरेको थियो । निजी संस्थाहरुसँग सहकार्य गरेर स्थानीयहरुबाट फोहोरको पैसा असुल गर्ने उक्त अभियानको दुर्दशाको कथा नेपालगन्ज वडा नम्बर ४ र ५ ले भनिरहेका छन् ।
साझेदारी अभियानअन्तर्गत नगरले प्रतिपरिवार एउटा डस्टबिन र बोरा सःशुल्क वितरण गरेको छ ।
तर अहिले पनि विभिन्न टोलहरु छेउमा फोहोरका डंगुरहरु थुपारिएको देख्न सकिन्छ । कतिपयले उक्त डस्टबिन र थैली पनि लिएका छैनन् । लिएकाहरुले पनि उक्त डस्टबिनहरुमा फोहोर जम्मा गर्नेभन्दा घरेलु सामानहरु राख्नमा प्रयोग गरेको पाइएको छ ।
नेपालगन्ज–४ देवाफूलबारीका एक स्थानीयले नाम नबताउने सर्तमा आफ्ना छिमेकीहरुले डस्टबिनका लागि दिइएको बाल्टिनमा चामल राख्ने गरेको खुलासा गरे । ‘धेरैले त ती डस्टबिनहरु अर्कै काममा प्रयोग गरेका छन् । फोहोर ल्याएर यी यहाँ फाल्छन्,’ उनले टोलछेउको खाली जमिनमा रहेको फोहोरको डंगुर देखाउँदै भने । वडा नम्बर ४ र ५ का खाली ठाउँमा फोहोरका डंगुरहरु अझै हटेका छैनन् ।
अर्का एक स्थानीयले जति सम्झाउँदा पनि स्थानीयहरुको फोहोर जथाभावी फाल्ने बानीमा परिवर्तन नआएको भन्दै खिन्नता प्रकट गरे । उनले स्थानीयहरुलाई फोहोर जथाभावी फाल्न नदिने वातावरण बनाउन स्थानीय सरकारले पनि राम्रो भूमिका नखेलेको बताए । ‘ट्याक्टर पनि हप्तामा एकपटक मात्रै आउँछ । त्यतिन्जेलसम्म फोहार कुहिएर गन्हाउन थालिसकेको हुन्छ ।
अनि लगेर बाहिरै फालिदिन्छन् । अर्काेतिर बाँडेका डस्टबिनहरु केमा प्रयोग भइरहेका छन् भनेर अनुगमन पनि हुनुपर्ने हो । तर त्यो भएन,’ उनले भने । नेपालगन्ज वडा नम्बर ४ र ५ मा केस बाँके नामक संस्थालाई फोहोर संकलन गर्ने र फोहोरबापत महिनामा हरेक परिवार र फर्मबाट निश्चित शुल्क उठाउने जिम्मा दिइएको छ । तर केस बाँकेका बालिका रावत उपमहनगरपालिका र वडाले फोहोर व्यवस्थान अभियानमा साथ नदिएको बताउँछिन् । उनका अनुसार दुईवटा वडाका लागि मात्र एउटा ट्याक्टर दिइएको छ । उक्त ट्याक्टरलाई सबै ठाउँ पुग्न नै समस्या हुने गरेको रावतले बताइन् ।
अर्काेतिर स्थानीवासीहरुले पनि फोहोर व्ववस्थापनमा साथ नदिएको उनले बताइन् । ‘कतिले डस्टबिन नै राखिदिनुभएन । राख्नुभएकोले पनि पैसा दिनुको डरले ट्याक्टरमा हालिदिनुहुन्न । धेरै नै समस्या छ,’ उनले भनिन् । वडा नम्बर ५ भन्दा पनि वडा नम्बर ४ मा फोहोर नउठ्ने समस्या धेरै रहेको पाइएको छ । कर्मचारीहरु पनि उपमहानगरपालिकामा फोहोर व्यवस्थापनमा सबैभन्दा बढी समस्या भएको वडा वडा नम्बर ४ नै भएको बताउँछन् ।
स्वीपर र फोहोर संकलकहरुको लापरबाही
नेपालगन्जका भित्री सडकमा स्वीपर र फोहोर संकलकहरुले राम्रो काम नगर्ने गरेको स्थानीयहरु बताउँछन् । स्वीपरहरुले झाडु लगाएको जस्तो गरेर फोहोर जम्मै सडक छेउमा थुपारिदिने र संकलकहरुले घरघरबाट आएको फोहोर मात्रै लोड गेरर हिँड्ने गरेको स्थानीयहरु बताउँछन् । सडकमा थुप्रिएको फोहोर विरलै मात्र उठाउने गरेको पाइएको छ ।
भित्री सडकहरुमा पानी नालीमा पठाउन बनाइएको ठाउँमा माटो भरिसकेको छ । त्यसमाथि झार उम्रिसकेको अवस्था छ । नालीको ढक्कन नभएका ठाउँमा फोहोर भरिइसकेको छ । वर्षात्को समयमा सडकबाट नालीमा पानी जाने प्वालहरु बन्द भइसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी फोहोर व्यवस्थापन साझेदारी अभियान धेरैजसो वडामा सफल भए पनि केही वडामा स्थानीयको असहयोगका कारण समस्यामा रहेको बताउँछन् । ‘फोहोर गर्नेले शुल्क तिर्नुपर्छ भन्ने विश्वव्यापी मान्यताअनुसार अघि बढौं भन्ने हाम्रो प्रयास हो । यसको कार्यान्वयमा केही समस्याहरु त अवश्य नै छन् । यसमा सबैको सकारात्मक बुझाइ र सहयोग हुनु आवश्यक छ,’ उनले भने ।
वडाध्यक्ष मोहम्मद सफिक बेहना वडामा पहिलेको जस्तो फोहोर व्यवस्थापनको समस्या नरहेको दाबी गर्छन् । उपमहानगरपालिकाले उपलब्ध गराएको स्रोत साधनअनुुसार आफूहरुले व्यवस्थापनको प्रयास गरेको उनले बताए । उनले भने, ‘हामीले उपमहानगरपालिकाबाट प्राप्त स्रोत र साधनको आधारमा काम गरिरहेका छौं । बिस्तारै सुधार आउँदै छ ।
नभएका ठाउँमा हामी स्थानीयलाई पनि सम्झाई बुझाइ गर्दै आइरहेका छौं ।’ वडा नम्बर ५ का वडाध्यक्ष कैफुबरा जोलाहा साधनको अभावमा फोहोर उठाउन समस्या रहेको स्वीकार्छन् । समस्या समाधानका लागि प्रयास भइरहेको पनि उनले बताए ।










प्रतिक्रिया दिनुहोस्