नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको तदर्थ समिति गठन गरिएको छ । करिब अढाइ दशकदेखि नयाँ कार्यसमिति गठन नहुँदा समस्याग्रस्त अवस्थामा रहेको पश्चिम नेपालको सबैभन्दा पुरानो पुस्तकालयको सुधारका लागि नयाँ तदर्थ समिति गठन गरिएको हो ।
पुस्तकालयको सुधारका लागि भन्दै जिल्ला पुस्तकालय समितिले अजयकुमार टण्डनको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो । उक्त समितिले तत्काल तदर्थ समिति गठन गरी पुस्तकालयको सुधारको जिम्मा उक्त समितिलाई दिइनुपर्ने सुझाव दिएको थियो । सोही सुझावअनुसार शिक्षक बलराम यादवको अध्यक्षतामा १२ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा पंकजकुमार श्रेष्ठ, सचिवमा सुदीप भट्टराई र कोषाध्यक्षमा कृष्णादेवी पाठक चयन भएका छन् । यसैगरी सदस्यहरुमा सनतकुमार रेग्मी, हरिप्रसाद तिमिल्सिना, अजयकुमार टण्डन, कृष्णमुरारीप्रसाद भट्ट, बेचनलाल गुप्ता, मोहम्मद जमिल सिद्धिकी, सच्चिदानन्द चौवे र विश्वजित तिवारी छन् ।
छानबिन समितिको सुझावअनुसार नै पुस्तकालयका आजीवन सदस्यहरुको भेलाबाट उक्त समिति गठन गरिएको शिक्षा विकास तथा समन्वय इकाई एवम् जिल्ला पुस्तकालय व्यवस्थापन समितिका सदस्य सचिव रामसुरेश यादवले बताए ।
नवगठित तदर्थ समितिका अध्यक्ष यादवले अब आफू नेतृत्वको समितिले असार मसान्तभित्र दिइएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले तदर्थ समितिलाई पुस्तकालयको सदस्यता संख्या बढाउने, बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्ने र अधिवेशन गराएर नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने जिम्मेवारी रहेको बताए । आफूहरुले दिएको जिम्मेवारी पूरा गर्न काम सुरु गरिसकेको उनले बताए ।
महेन्द्र पुस्तकालयमा साढे दुई दशकदेखि कार्यसमिति नहुँदा अध्ययन गर्नमिल्ने वातावरण छैन भने पुस्तक र अन्य सामानहरुको सुरक्षा पनि भएको छैन । छानबिन समितिले पुस्तकालयमा कति पुस्तक छन् भन्ने यकिन नभएको, खर्चको हिसाबकिताबका कागजपत्र हेर्न नपाइएको र भाडामा दिइएका सटरहरुको भाडा कम भएको र असुल पनि नभएको उल्लेख गरेको छ ।
तदर्थ समिति गठनसँगै अब पुस्तकालय सुधारको बाटोमा जाने अपेक्षा गरिएको छ । जिल्ला पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला पुस्तकालय व्यवस्थापन समितिका संयोजक अजय श्रीवास्तवले कानुनले जिल्लास्तरीय समितिलाई दिएको जिम्मेवारी पूरा गरेको र अबको काम तदर्थ समितिले नै अघि बढाउने बताएका छन् ।
आजीवन सदस्यहरुको भेलाले असार मसान्तभित्रै नयाँ कार्यसमिति गठन गरेर जिम्मेवारी हस्तान्तरण गर्ने सहमति पनि गरेको उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्