रत्न राजमार्ग(सुर्खेत रोड)को कोहलपुर नगरपालिका क्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरु स्थानीयवासी स्वयंले भत्काउन थालेका छन् ।
तर नेपालगन्जमा संरचनाहरु हटाउने गति सुस्त रहेको र निर्वाचन नजिकिँदै जाँदा सडक अतिक्रमण हटाउने काम प्रभावित हुने आशंका व्यक्त हुन थालेको छ । केही संरचनाहरु भत्काएर अधिकांश संरचनाहरु नभत्काइएपछि संरचना भत्केकाहरु आफ्नो संरचना मात्रै भत्काइएको भन्दै आक्रोश पोख्न थालेका छन् ।
सार्वजनिक सूचना जारी गरेर पनि अक्रिमण गरी बनाइएका संरचना नहटाइएपछि चैत १० गते सडक डिभिजन कार्यालय नेपालगन्जको टोली मेसिन(डोजर) लिएर भत्काउन पुगेको थियो । तर कोहलपुरवासीहरुले आफूहरुलाई सूचनाबारे जानकारी नभएको र भत्काउनका लागि समय पनि नदिइएको गुनासो गर्दै समय माग गरेका थिए । त्यसपछि एकहप्ता समय दिइएकोमा दुई हप्ता बितिसक्दा पनि सबै संरचनाहरु हटिसकेका छैनन् ।
नेपालगन्ज–कोहलपुर सडकखण्डमा सडक मिचेर बनाइएका संचरना हटाउने काम कोहलपुर तिरबाट सुरु गर्ने भनेर पहिले कोहलपुर पुगेको सडक डिभिजनले अतिक्रमित संरचना भत्काउन समय दियो । तर, कोहलपुरको दक्षिणमा पर्ने जानकी गाउँपालिका क्षेत्रमा पर्ने केही टहराहरु र पर्खालहरु भत्काइयो ।
जबकी त्यस क्षेत्रमा पर्ने ठूला उद्योगहरुका सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काइएन । त्यसपछि एकैचोटी नेपालगन्ज सडक डिभिजन कार्यलयको अघि भर्खरै बनेका दुईवटा टहराहरु भत्काइयो । ती टहरा डोजर लगाएर भत्काइँदा संरचना बनाउनेहरुलाई सम्झाउन प्रशासन र सडक डिभिजनलाई हम्मे हम्मे प¥यो । सडक डिभिजनले अतिक्रमण हटाउने क्रममा शक्तिको प्रभावमा परेर विभेद गरेको आरोप लाग्न थालेको छ ।
बाँकेका सबै राजनीतिक दलहरुले सडक अतिक्रमण हटाउन सहयोग गर्ने भन्दै सहमति पनि दिइसकेका छन् । तर राजनीतिक दलहरुले पुरानो मन्त्रीपरिषदको निर्णयका आधारमा नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुरको बजार क्षेत्रको ८ सय मिटर क्षेत्रमा भने संरचनाहरु नहटाउनेमा सहमति गराएका छन् । यस निर्णयले पनि स्थानीयहरु असन्तुष्ट छन् । नियम सबै क्षेत्रमा एकैनास हुनुपर्ने उनीहरुको माग छ ।
कोहलपुर क्षेत्रमा स्थानीयलाई आफै भत्काउन भनेर समय दिएको सडक डिभिजनसँग नेपालगन्जमा उद्योगी व्यवसायीले पनि एक महिना समय माग गरेपछि अक्रिमण हटाउने काम थप लम्बिएको हो ।
चैमर अफ कमर्समा आबद्ध व्यवसायीहरुले मार्किङ गरेर संरचना भत्काउने समय दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि ज्ञापन पत्र बुझाए । त्यसपछि सडक डिभिजन सडक मार्किङ गरेर पुनः संरचनाका मालिक स्वयंलाई भत्काउने समय दिन राजी भयो । ‘मार्किङ गरेको दिनबाट १५ दिनको समय दिएर आफै संरचना हटाउन भनेका छौँ,’ सडक डिभिजन नेपालगन्ज प्रमुख होमबहादुर एसी भन्छन्, ‘त्यति गर्दापनि हटेनन् भने त कानुनअनुसार हामी अघि बढ्छौँ ।’
सुरुका केही दिन मार्किङ गर्ने कामलाई तीव्रता दिएको सडक डिभिजनले अहिले मार्किङ गर्ने काममा पनि ढिलाई गरिरहेको छ । प्रमुख एसी भन्छन्, ‘अरु सबै काम छोडेर त्यसमै ध्यान दिन सकिने अवस्था छैन । समय मिलाएर मार्किङ गर्ने काम भइरहेको छ ।’ हालसम्म कति संरचनाका भत्काउनका लागि मार्किङ गरियो भन्ने तथ्यांक नआइसकेको पनि एसीले बताए ।
कोहलपुर क्षेत्रमा संरचनाहरु आफै भत्काउन सुरु गरेको पाइएकोले अब अरु क्षेत्रमा पनि भत्किने आशामा रहेको उनी बताउँछन् । निर्वाचनले सडक अतिक्रमण हटाउने कामलाई प्रभावित नगर्ने उनको ठोकुवा छ । ‘निर्वाचनले यसलाई खासै असर गर्दैन । हामील पहिलेदेखि नै सुरु गरिसकेको काम हो । प्रकृयामा गइसकेको छ । अब यो उदेश्य पूरा नहुँदासम्म जारी रहन्छ,’ एसीले भने ।
नेपालगन्ज–कोहलपुर खण्डमा रहेका डेढ दर्जन पक्की संरचना डोजर लगाएरै भत्काएको सडक डिभिजनले जनाएको छ । तर सडक डिभिजनले संकलन गरेको तथ्यांकमा ८ सय भन्दा बढी संरचनाहरु सडक क्षेत्रमा छन् ।
सन्चार माध्यमहरुमा सडक क्षेत्र अतिक्रमणका बारेमा समाचार प्रकाशित भएपछि सडक डिभिजनले अतिक्रमण हटाउन पहल थालेको थियो । नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुर बजारको ८ सय मिटर क्षेत्रमा सडकको मध्यबिन्दुदेखि २१–२१ मिटर दायाँबायाँ र अन्य ठाउँमा मध्यबिन्दुदेखि २५–२५ मिटर दायाँबायाँ भित्रका संरचनाहरु हटाउने लक्ष्य रहेको डिभिजनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्