पालिका प्रमुख र उपप्रमुखमा धेरैले आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छान्न एमालेलाई सकस भएको थियो । सकेसम्म पालिका कमिटीबाट नै सर्वसम्मतरुपमा उम्मेदवार छनोट गरेर नाम सिफारिस गर्न एमालेले सर्कुलर गरेको थियो । आकांक्षी धेरै हुँदा सहमति जुट्न सकेन, जसले गर्दा धेरैजनाको नाम माथिल्लो कमिटीमा सिफारिस गर्नु परेको छ ।
आन्तरिक रस्साकस्सीपछि नेकपा एमालेका पालिका कमिटीले स्थानीय तहको निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम जिल्लामा सिफारिस गरी पठाएका छन् ।
पालिका प्रमुख र उपप्रमुखमा पदअनुसार एक व्यक्तिको नाममा मात्र सर्वसम्मत हुन नसकेपछि एमालेले आकांक्षीहरुको नाम जिल्लामा सिफारिस गरी पठाएको हो ।
केही पालिकाले भने सर्वसम्मतरुपमा उम्मेदवार टुंग्याएका छन् । पालिका प्रमुख र उपप्रमुखमा धेरैले आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छान्न एमालेलाई सकस भएको थियो । सकेसम्म पालिका कमिटीबाट नै सर्वसम्मतरुपमा उम्मेदवार छनोट गरेर नाम सिफारिस गर्न एमालेले सर्कुलर गरेको थियो ।
आकांक्षी धेरै हुँदा सहमति जुट्न सकेन, जसले गर्दा धेरैजनाको नाम माथिल्लो कमिटीमा सिफारिस गर्नु परेको छ । आकांक्षीहरु धेरै र पद थोरै भएका कारण पालिका कमिटीले आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेका हुन् । अधिकांश पालिकाहरुले प्रमुख र उपप्रमुख टुंगो लगाइदिन भन्दै जिल्लामा आकांक्षीको नाम पठाएका छन् । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारीले एकभन्दा बढीको नाम सिफारिस गरेका छन् ।
खजुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबारे छलफल हुन नसकेको एमालेका पालिका अध्यक्ष गेहेन्द्र धितालले जानकारी दिए । ‘आकांक्षीहरु धेरैजना हुनुहुन्छ ।
अहिलेसम्म खास्सै छलफल भएको छैन,’ उनले भने, ‘सकेसम्म हामी सहमतिले उम्मेदवार टुंगो लगाउने प्रयास गर्नेछौं ।’ नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, जानकी र नरैनापुर गाउँपालिकाले भने सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो लगाएका छन् । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकी, डुडुवा र नरैनापुरमा उम्मेदवारको विषयमा कुनै समस्या नरहेको बताए ।
‘तीनवटै पालिकाबाट सर्वसम्मतरुपमा नै जिल्लामा नाम आउँछ,’ उनले भने, ‘अन्य पालिकाको जस्तो समस्या हामीले यी पालिकामा देखेका छैनौं ।’ तल्लो तहबाट सर्वसम्मतरुपमा नै जिल्लामा सिफारिस भएर आएको हकमा उही व्यक्ति उम्मेदवार हुने उनले बताए । ‘एकै व्यक्तिको नाम सिफारिस भएर आएको हकमा उही व्यक्त उम्मेदवार हुन्छ,’ उनले भने, ‘एकभन्दा बढीको नाम आएको खण्डमा सर्वसम्मतरुपमै एकजनालाई उम्मेदवार टुंगो लगाउँछौं ।’
जिल्लाका आठवटै पालिका जित्ने गरी एमाले चुनावमा होमिसकेको उपाध्यक्ष बिसीले जानकारी दिए । जानकी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारको रुपमा एमाले हिमान्सु यादवलाई अगाडि सारेको छ । उनी केही समयअघि निधन भएका गाउँपालिका अध्यक्ष रामनिवास यादवका छोरा हुन् । एमालेले जानकीको उपाध्यक्षमा भूमिसरा धिताललाई अगाडि सारेको छ । उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाटै जानकीको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
एमालेले फेरि धिताललाई उपाध्यक्ष पदमै उम्मेदवार बनाएको हो । डुडुवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सर्वसम्मतरुपमा उम्मेदवार टुंगो लागिसकेका छन् । गाउँपालिकाको अध्यक्षको लागि एमालेले सरोजकुमारी यादवलाई अगाडि सारेको छ । उनी जनता समाजवादी पार्टीले कारबाही गरेका विजयबहादुर यादवकी श्रीमती हुन् ।
उपाध्यक्षमा भने एमालेका गाउँ कमिटी अध्यक्ष सकिल खानको नाममा सहमति जुटेको छ । नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागिसमेत आज (मंगलबार) सम्म सर्वसम्मतरुपमा नै नाम सिफारिस हुनेछ । ‘अध्यक्ष र उपाध्यक्षको लागि त्यति समस्या छैन ।
सहमतिमै नाम सिफारिस हुन्छ,’ एमाले नरैनापुरका नेता विनय दीक्षितले भने, ‘निर्धारित समयमै सहमतिकै आधारमा नाम जिल्लामा पठाउँछौं ।’ नरैनापुरको अध्यक्षको लागि कोरोनाका कारण मृत्यु भएका नेता दिनेशचन्द्र यादवकी श्रीमतीलाई अगाडि सार्ने तयारी गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा धेरैजना आकांक्षी रहे पनि सोमबारको नगर कमिटी बैठकले सर्वसम्मतरुपमा नाम टुंगो लगाएको छ । मेयरमा पशुपतीदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गर्ने निर्णय भएको नगर कमिटी सचिव मोहित शाहले जानकारी दिए । कोहलपुर नगरपालिकाकोे मेयरको उम्मेदवार छनोटका लागि तीनजनाको नाम सिफारिस गरिएको छ ।
एमाले कोहलपुर नगर कमिटी बैठकले सहमति जुट्न नसकेपछि तीनजनाको नाम जिल्लामा सिफारिस गरेको हो । मेयरका लागि आकांक्षी रहेका खिलप्रसाद भुषाल, वसन्ती अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरिएको नगर कमिटी सचिव माधव रिजालले जानकारी दिए । उनका अनुसार उपमेयरको लागिसमेत तीनजनाको नाम सिफारिस गरिएको छ । उपमेयरको लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरिएको छ ।
नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटीले अध्यक्ष पदको लागि तीनजनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको पालिका कमिटीको बैठकले अध्यक्षको लागि तीनजना तथा उपाध्यक्षको लागि चारजनाको नाम सिफारिस गरेको थियो । अध्यक्षको लागि मनोज केसी, रामदास थारु र तुल्सी थारुको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी उपाध्यक्षको लागि चमेली वाकबल, खुमा डाँङ्गी, सुधा चौधरी र कृष्ण बोहोराको नाम सिफारिस गरिएको हो । बैजनाथ गाउँपालिकाको अध्यक्षको लागि दुईजना र उपाध्यक्षको लागि पाँचजनाको नाम सिफारिस भएको छ । एमालेको गाउँपालिका कमिटी बैठकले कसैको नाममा सहमति जुट्न नसकेपछि सबैको नामलाई जिल्लामा सिफारिस गरेको हो ।
अध्यक्षको उम्मेदवारका लागि मानबहादुर रुचाल र घननाथ खनालको नाम सिफारिस गरिएको छ । यस्तै उपाध्यक्षको लागि एकता शाह, कञ्चन गौतम, प्रेमपूर्णा योगी, निर्मला मल्ल र शारदा विश्वकर्माको नाम पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्