२०७४ को स्थानीय तहमा नेकपा एमालेले बाँकेका आठ स्थानीय तहमध्ये चारवटामा विजयी भयो । जानकी र कोहलपुरमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेलबिना पनि जित दोहो¥याउन सहज छैन ।
किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ । कोहलपुर र जानकी मात्र होइन, ठूलो मतान्तरले विजयी भएको खजुरा र बैजनाथमै कठिन हुने देखिन्छ । यसको मूल कारण हो, ‘एमाले विभाजन हुनु र एमालेबाहेकका ठूला दल गठबन्धन गर्नु ।’
यसले गर्दा, वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेलाई बाँकेका आठवटै स्थानीय तहमा विजयी झण्डा फहराउन सहज छैन । यदी गठबन्धन नभयो भने परिणाम मिश्रित आउन सक्छ । भनेको एमाले क्लीनस्वीप हुँदैन । आउँदो चुनावबाट सत्ता गठबन्धन दलहरु पनि सबै स्थानीय तह एमालेविहीन बनाउन चाहान्छन् । उनीहरुकै भाषामा भन्दा बाँकेमा एमालेलाई ‘क्लीनस्वीप’ गर्न चाहान्छन् ।
के सत्ता गठबन्धन दलहरुको एमालेविहीन स्थानीय तह बनाउने रणनीति सफल हुन्छ त ? एमालेलाई पनि यही प्रश्नले पिरोलेको छ । सत्ता गठबन्धन दल एक ठाउँमा उभिए आफू केही वडा जिते पनि नगर तथा गाउँपालिकाबाट पाखा लाग्न सक्ने एमालेको भित्री आँकलन छ ।
तर, एमाले नेताहरुले मतदाताको मनोबल उच्च राख्न गठबन्धन आए पनि उनीहरुभन्दा आफूले धेरै स्थानीय तह जित्ने दाबी गर्दै आएका छन् । त्यो भनेको, ‘छातिमाथि ढुंगा राखी हास्नु प¥या छ, भने जस्तै हो ।’
२०७४ सालको चुनावी मतलाई जोडेर विश्लेषण गर्दा गठबन्धनसँग एमालेलाई प्रतिस्पर्धा गर्नसमेत हम्मेहम्मे देखिन्छ । २०७४ सालको मतदाता संख्याभन्दा अहिले बढी भए पनि दलहरुको अवस्था उस्ताउस्तै छ । एमालेले अहिलेको अवस्था २०७४ को जस्तो नभएको बताउँदै आएको छ । त्यतिबेला नेपालगन्जमा ६ हजार ९ सय ६५ मत एमालेले पाएको थियो ।
राप्रपाको १२ हजार पाँच सय १५ मत थियो । दुवैको मत जोड्दा १९ हजार चार सय ८० पुग्छ । राप्रपाको उक्त मत मेयरमा विजयी भएका डा. धवलशमशेर राणाको व्यक्तित्वका कारणले आएको हो । उक्त मत बराबर राप्रपा नेपालगन्जमा यति बलियो छैन । नेपाली कांग्रेसको आठ हजार सात सय ३०, नेकपा (माओवादी केन्द्र) को सात हजार एक सय ९८ र संघीय समाजवादी फोरमको पाँच हजार चार सय ४१ मत जोड्दा गठबन्धनको संयुक्त मत २१ हजार तीन सय ६९ पुग्न जान्छ ।
यता कोहलपुरमा एमालेले झिनो मतान्तरले जित्यो । उपमेयरमा भने कांग्रेसले जितेको छ । नेपाली कांग्रेसभन्दा ८३ मतले एमाले विजयी भयो । एमालेले ९ हजार सात मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसले आठ हजार ९ सय २४ मत ल्याएको थियो । यहाँ माओवादीले ६ हजार दुई सय २१ मत प्राप्त गरेको थियो । एमाले र राप्रपाले चुनावी तालमेल गर्दा पनि गठबन्धनको मत भेटाउन हम्मेहम्मे पर्छ ।
कोहलपुरमा राप्रपाको मत आठ सय ५६ मात्र थियो । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीको मत जोड्दा मात्र १५ हजार एक सय ४५ पुग्छ । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले दुई हजार तीन सय तीन मत प्राप्त गरेको थियो ।
खजुरा गाउँपालिकामा पनि २०७४ सालमा निर्वाचनमा नेकपा एमालेले विजयी भएको थियो । यहाँ प्रमुख प्रतिद्वन्द्वी माओवादी थियो । विजयी उम्मेदवार एमालेले आठ हजार ७० मत प्राप्त गरेको थियो । उक्त मत माओवादीभन्दा एक हजार एक सय ७८ ले बढी हो । यो मत हेर्दा एमालेको गठबन्धनभन्दा धेरै हुँदैन । नेपाली कांग्रेसले चार हजार ९ सय ५४ मत पायो । राप्रपाको तीन सय ८६ मत मात्र छ ।
जानकी गाउँपालिकामा पनि एमालेले विजयी भएको छ । यहाँ नेपाली कांग्रेसभन्दा झिनोअर्थात ७४ मतले मात्र एमाले विजयी भयो । यहाँ एक्लाएक्लै चुनाव लड्दा पनि एमालेलाई चुनाव जित्न सहज छैन ।
नेपाली कांग्रेसको तीन हजार ९ र माओवादी केन्द्रको मतमात्र जोड्दा गठबन्धनको मत जानकीमा चार हजार ९ सय ४३ पुग्छ । यदी यहाँ पनि एमाले र राप्रपाबीच चुनावी तालमेल भए कडा प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका उम्मेदवारले तीन हजार ८३ मत प्राप्त गरेका थिए । राप्रपाको एक हजार दुई सय ९५ मत त्यसमा जोड्दा चार हजार तीन सय ७८ पुग्न जान्छ ।
डुडुवामा एमाले तेस्रो स्थानमा छ । एमालेको मतभन्दा नेपाली कांग्रेसका उम्मेदवारले तेब्बर बढी मत ल्याएर विजयी भएका छन् । संघीय समाजवादी फोरम दोस्रो स्थानमा छ । नेपाल नेपाली कांग्रेसका उम्मेदवारले चार हजार ६ सय ९१ मत ल्याउँदा एमालेका उम्मेदवारले एक हजार चार सय ६६ मत ल्याए । डुडुवामा एमालेलाई चुनावी प्रतिस्पर्धा गर्नसमेत कठिन छ ।
नरैनापुरमा पनि एमालेलाई एक्लाएक्लै चुनाव लड्दा कठिन छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा एमालेलाई चुनाव जित्न फलामको चिउरा चपाएजस्तै हुने देखिन्छ । नेकपा एमालेका उम्मेदवारले एक हजार आठ सय ७२ मत मात्र प्राप्त गरे । यहाँ संघीय समाजवादी फोरम नेपालले चार हजार ८० मत ल्याएर विजयी भएको छ ।
नेपाली कांग्रेसले तीन हजार तीन सय ८८ मत प्राप्त गर्दा माओवादीले पाँच सय ७८ मत मात्र प्राप्त ग¥यो । यता राप्रपाको मत पाँच सय सात थियो । नरैनापुरमा पनि गठबन्धनभित्र किचलो नभए गठबन्धनले जित्ने आधार देखिन्छ । बैजनाथ गाउँपालिकामा एमालेले नौ हजार सात सय ७२ मत ल्याएर विजयी भएको छ । यहाँ नेपाली कांग्रेसको ६ हजार पाँच सय ७६ र माओवादीको पाँच सय तीन सय ६३ मत थियो । राप्रपाको ९ सय ६६ मात्र मत थियो ।
एक्लाएक्लै चुनावी मैदानमा जाँदा एमालेलाई चुनावमा सहज भए पनि गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न सकस देखिन्छ । राप्तीसोनारीमा आठ हजार दुई सय ३६ मत ल्याउँदै नेपाली कांग्रेसले विजयी बन्यो । एमालेको ६ हजार ९ सय, माओवादीको ६ हजार ६ सय ६४ र राप्रपाको एक हजार ६ सय ६८ मत आएको थियो ।
बाँकेका आठवटा स्थानीय तहमध्ये चारवटा नेकपा एमाले कोहलपुर, जानकी, खजुरा र बैजनाथ, नेपाली कांग्रेसले राप्तीसोनारी र डुडुवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगन्ज र संघीय समाजवादी फोरम नेपालले नरैनापुरमा जितेका थिए ।
आउँदो स्थानीय तहको चुनावमा एमाले निराश देखिन्छ । बाहिरी रुप हसिलो भए पनि भित्री मनमा गठबन्धन भत्काउन एमाले लागिपरेको छ । गठबन्धनबिना चुनावमा जाँदा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
रणनीतिक योजनामा एमाले
यता नेकपा एमालेले भने बाँकेका ६ वटा पालिकामा जित्ने दाबी गरेको छ । २०७४ सालको चुनावमा एमालेले बाँकेका चारवटा स्थानीय तहको चुनाव जितेको थियो । फुटको प्रभाव नपरेको एमालेको भनाइ छ ।
एमालेबाट केही व्यक्ति अलग भए पनि उनीहरुभन्दा बढी व्यक्ति माओवादीबाट एमालेमा समाहित भएको एमालेको ठहर छ । अहिले एमालेमा प्रवेश गर्नेहरुको लहर भएको एमालेका जिल्ला सचिव रत्न खत्रीले बताए । ‘बाँकेमा एमाले कमजोर छैन,’ उनले भने, ‘एमाले पहिलाको भन्दा अहिले अझ सशक्त र बलियो भएको छ ।’
सत्ता गठबन्धनमा भागबण्डा नमिल्दाको फाइदा उठाउनेसमेत एमालेको तयारी छ । उम्मेदवारमा दाबी गरेका तर टिकट नपाएकालाई भड्काएर मत प्रभाव पार्ने रणनीतिमा समेत एमाले छ । नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वका कारण उसका मत केही साटफेर हुने पनि देखिन्छ । बाँकेमा सत्ता गठबन्धनभन्दा एमालेले ठूलो कसरत गरिरहेको छ ।
गठबन्धनसँग चुनावी प्रतिस्पर्धा एमालेका लागि नयाँ नभएको खत्रीले बताए । गठबन्धनले एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । बाँकेमा एक्लाएक्लै लड्दा सबै पालिका एमालेले जित्ने र गठबन्धनसँग चुनाव भयो भने आठमध्ये ६ पालिकामा एमाले विजयी हुने र दुई पालिकामा कडा प्रतिस्पर्धा हुने उनको दाबी छ ।
‘बाँकेमा एमालेको मत २०७४ को होइन, अहिले धेरै सुधार भएको छ,’ उनले भने, ‘अरु पार्टीलाई छाडेर हजारौं मतदाता एमालेमा आएका छन् ।’ यसको आधारमा पनि एमालेको मत २०७४ कोभन्दा अहिले धेरै भएको उनको भनाइ छ ।
गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा जाँदा एमालेलाई कुनै चुनौती नहुने उनी बताउँछन् । ‘हामी जनताको घरघरमा पुगेका छौं,’ उनले भने, ‘अरु दलहरु कहाँ छन् थाहा छैन ।’ एमाले बाँकेमा फुटको असर शून्य भएको भन्दै आजको जनमतको तागतले एमाले अझ बलियो भएको उनले बताए ।
स्वार्थगत रणनीतिमा धवल
नेपालगन्जका मेयरसमेत रहेका राप्रपाका महामन्त्री डा. राणा पनि चुनावी रणनीतिमा छन् ।
संघको चुनावमा आफूलाई सघाए एमालेसँग स्थानीय तहको चुनावमा तालमेल गर्न सकिने पहल गरिरहेका छन् । एमालेसँग चुनावी तालमेल नगर्दा उनलाई संघमा चुनाव जित्न सहज छैन ।
पार्टीको मतभन्दा उनको व्यक्तित्वका कारण संघको चुनाव उनले नजित्लान् भन्न पनि सकिँदैन । तर यसमै उनी ढुक्क छैनन् । एमालेले सघाए आफू संघमा निर्वाचित हुने उनको अपेक्षा छ ।
एमालेले आफूलाई संघमा सघाएर स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने रणनीति उनको छ । बढी रुचीका साथ हेरिएको नेपालगन्जमा राप्रपालाई उपमेयर र संघमा आफूलाई सघाएर मेयरमा सघाउन तयार हुने छलफल भएको कतिपय नेताहरुको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्