कोहलपुरमा मनाइयो विद्युतीय सुरक्षा दिवस



कोहलपुर।

बाँकेसहित देशभर विभिन्न कार्यक्रम गरेर शनिबार विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।

‘विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नारामा साथ दिवस मनाइएको हो । दिवसको अवसरमा शनिबार कोहलपुरमा प्रभात फेरि निकालिएको थियो । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको आयोजनामा प्रभात फेरि गरिएको हो ।

कोहलपुर वितरण केन्द्र परिसरबाट सुरु भएको प्रभात फेरि साँझा चोक, न्यूरोड चोक, चौराह हुँदै पुनः कार्यालयमा नै पुगेर समापन भएको थियो । प्रभात फेरिमा सहभागी कर्मचारीहरुले सुरक्षा सामाग्रीको साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, प्रलोभनमा नपरौं, विद्युत्को सुरक्षित उपयोग गरौँ, नगरौ है चोरीको धन्दा, परिएला कानूनको फन्दा लगायतका जनचेतनामुलक नारा लेखिएका पम्पलेट बोकेका थिए ।

वितरण केन्द्रका निमित्त प्रमुख सञ्जिव कुमार रायले अनौपचारिक रुपमा कर्मचारीलाई काम गर्ने क्रममा अपनाउनु पर्ने सावधानी र विद्युतीय सुरक्षाका विषयमा जानकारी गराए । विद्युतीय काम गर्दा सुरक्षा सबैभन्दा ठूलो सर्त रहेको भन्दै उनले काम गर्दा ज्यानलाई जोखिममा राख्न नहुने बताए ।

वितरण केन्द्रका मिटर रिडिङ फाँट प्रमुख भीम प्रसाद ढकालले जनतालाई विद्युतीय जोखिमका विषयमा जानकारी र स्वयम् कर्मचारीलाई पनि कार्य सम्पादन गर्ने क्रममा सुरक्षा अपनाउनु पर्ने लगायतका बारेमा जानकारी दिने उद्देश्यले दिवस मनाउँदै आएको बताए ।

विद्युतीय सुरक्षा दिवसको अवसरमा भएको कार्यक्रममा निमित्त कार्यालय प्रमुख, प्रशासन प्रमुख फाँट प्रमुख र कोहलपुर, सुर्खेत र जुम्ला १३२ केभिए प्रसारण लाइनका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार