18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

खजुरामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७८  

नेपालगन्ज ।

खजुरा गाउँपालिकामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

खजुरा ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सन्चालन हुने आयोजक क्लबका अध्यक्ष भक्तबहादुर गोदरले जानकारी दिए । खजुरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पहिलोपटक राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको अध्यक्ष गोदारले बताए ।

नयाँ वर्ष २०७९ को अवसरमा आयोजना हुने प्रतियोगितामा मेन्स डबल र भेट्रान्स डवल गरी दुई विधाको खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ६० टिमले भाग लिने अनुमान गरिएको छ । २४ चैतसम्म २५ वटा टिमले नाम दर्ता गराइसकेका छन् । खुल्ला मेन्स डवलतर्फको विजेता टिमले ३० हजार, दोस्रोले २० र तृतिय हुनेले १० हजार रुपैँया पुरस्कार पाउनेछन् ।

त्यसैगरि, भेट्रान्स डवलतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार पाउने छन् । एक टिमबाट दुई जनाले खेल्न पाइने नियम बनाइएको छ । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क दुई हजार रुपैँया तोकिएको छ । शुल्क तिरेबापत उनीहरुलाई आयोजकले आकर्षक टि–शर्ट प्रदान गर्ने भएको छ ।

अध्यक्ष गोदारका अनुसार ‘बी’ लेवलको प्रतियोगिता भएकोले राष्ट्रिय, प्रदेश र क्षेत्रीय प्रतियोगितामा सहभागी खेलाडी र टिमले खेल्न पाउने छैनन् । प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैँया लाग्नेमा खजुरा गाउँपालिकाले एक लाख रुपैँया सहयोग गरेको गोदारले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७८     6:34:07 PM  |