कस्ले गर्ला खजुराको नेतृत्व ? यस्ता छन् अध्यक्षका आकांक्षी



कृष्ण ओली । बाँके ।

खजुरा पछिल्लो समय उदाउँदै गएको सहर हो । खजुरा जति विकसित हुँदै जाँदैछ, त्यतिनै राजनीतिक गतिविधि बढ्दो क्रममा छ । खजुरा नगरपालिका उन्मुख सहर पनि हो । नेपालगन्ज, कोहलपुरपछिको तेस्रो ठूलो सहर खजुरामा स्थानीय तह चुनावको सरगर्मी ह्वात्तै बढेको छ ।

हाल गाउँपालिका रहेकोे नगरपालिका उन्मुख खजुरामा अबको नेतृत्व को ? भन्ने चासो अहिले चोक, चौतारा, चिया पसलदेखि टोल छरछिमेकसम्म बहस र छलफल हुन थालिसकेको छ ।

राजनीतिकरुपमा अर्थ राख्ने भएकोले पनि दलहरुले खजुरालाई आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् । हुलाकी राजमार्गमा पर्ने खजुरामा यस क्षेत्रकै ठूलो क्यान्सर अस्पताल, विभिन्न सरकारी ठूला कार्यालयलगायत भएकोले यहाँको राजनीतिले माथिल्लो तहसम्म अर्थ राख्छ ।

त्यसैले दलहरु पनि खजुराको नेतृत्व आफ्नो पोल्टामा पार्न लागिपरेका हुन् । घर नजिकै सरकार भनिने स्थानीय तहको चुनावपछि खजुराको नेतृत्व गर्नेगरी विभिन्न दलका आकांक्षी अगाडि बढेका छन् । खजुरा गाउँपालिकाको नेतृत्व २०७९ वैशाख ३० गतेपछि आफ्नो पोल्टामा पार्न अहिले दलहरु जुटेका छन् । चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरु मतदाता रिझाउन लागेका छन् ।

आकांक्षीहरुले आफ्नै दलभित्र टिकट हात पार्न लबिइङ गरिहेका छन् । खजुरामा सत्तारुढ गठबन्धन र एमालेबीच चुनावी भिडन्त हुने देखिन्छ । २०७४ सालको निर्वाचनमा खजुरा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित अधिकांश वडाहरु एमालेले जितेको हो । अहिले एमाले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराएर आफ्नो विरासत जोगाउने दाउमा छ ।

एमालेबाट खजुराको अध्यक्षमा हालकी उपाध्यक्ष एकमाया विक, वडाअध्यक्ष सुमन मल्ल, गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली र एमालेका पुराना नेता भक्तबहादुर केसीले आकांक्षा देखाएका छन् । उपाध्यक्ष विकले त सामाजिक सञ्जालबाट नै अध्यक्षमा आफ्नो उम्मेदवारी हुने भनेर घोषणा गरेकी थिइन् ।

चारजनाले अध्यक्षमा दाबी गरेपछि एमालेलाई खजुराको उम्मेदवारी टुंगो लगाउन सकस परेको छ । अहिलेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पुनः गाउँपालिका अध्यक्षमा उठ्ने मनसाय राखेका छैनन् । नेकपा एमाले खजुरा गाउँपालिका अध्यक्ष गेहेन्द्र धितालले २७ गतेमात्र उम्मेदवारको बारेमा छलफल हुने बताए ।

‘शुक्रबारदेखि वडामा उम्मेदवार छनोटका विषयमा छलफल सुरु भएको छ,’ उनले भने, ‘२७ गते पालिकामा छलफल हुन्छ । त्यहाँबाट केही टुंगो लाग्ला पालिका अध्यक्षको बारेमा ।’ अहिले नेतृत्वको लागि आकांक्षीहरु धेरैजना रहेको भन्दै पालिका अध्यक्ष धितालले २७ गते नै औपचारिकरुपमा छलफल हुने बताए । सकेसम्म सहमतिकै आधारमा उम्मेदवार चयन गरिने उनले जानकारी दिए ।

सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट समेत दुईजनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । मोहम्मद नकी खाँ र रमेशकुमार सिँजाली अध्यक्षका आकांक्षी हुन् । खाँ २०७४ को चुनावमा समेत अध्यक्षमा पदका उम्मेदवार थिए । उनी कांग्रेस खजुरा गाउँपालिका सभापतिसमेत हुन् । सभापति सिँजालीले सत्ता गठबन्धन दलहरुबीच गठबन्धन बनाएर जाने सहमति भएको बताए ।

‘खजुरा कुन पार्टीको भागमा पर्छ भनेर थाहा छैन । माथिको निर्णय कुरिरहेका छौं,’ उनले भने, ‘कांग्रेसका वडा समितिबाट उम्मेदवारहरुको नाम सिफारिस भएर आइरहेका छन् । नेतृत्व कसले पाउने भन्ने टुंगो लागेपछि सजिलो होला ।’ खजुरा कांग्रेसले अहिले अध्यक्षको लागि त्यस्तो कुनै निर्णय नगरेको सभापति सिँजालीले मिसन टुडेलाई जानकारी दिए ।

यस्तै सत्ता गठबन्धनमा नै रहेको नेकपा (माओवादी केन्द्र) बाटसमेत दुईजना आकांक्षी छन् । माओवादीका बाँके जिल्ला संयोजक डम्बर विक ‘तुफान’ र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले आकांक्षा देखाएका हुन् ।

तुफान २०७४ सालको निर्वाचनमा एमालेका कक्षपतिसँग पराजित भएका थिए । गठबन्धनबाट खजुरा अध्यक्ष माओवादीको भागमा परेर तुफान नै उम्मेदवार हुने माओवादीका नेताहरु बताउँछन् । माओवादी खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले उम्मेदवार टुंगो लाग्न नै बाँकी रहेको जनाए ।

‘गठबन्धन गर्ने क्रममा खजुरा हाम्रो भागमा परेमा सहमतिमै उम्मेदवार चयन गर्नेछौं,’ उनले भने, ‘खजुरा गठबन्धनभित्रका कुन दलको भागमा पर्छ भनेर निर्णय कुरिरहेका छौं ।’ नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच खजुरामा चुनावी गठबन्धन हुनेछ । स्थानीय तह निर्वाचन २०७९ मा खजुरामा गाउँपालिकामा पहिलेको तुलनामा सात हजार आठ सय ४९ नयाँ मतदाता छन् । २०७४ को स्थानीय तह निर्वाचनमा खजुरामा २९ हजार चार सय १५ जना मतदाता थिए ।

आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ३७ हजार दुई सय ६४ जनाले मतदान गर्ने छन् । मिश्रित समुदायको बसोबास रहेको खजुरामा सत्तारुढ गठबन्धन एउटै भएर निर्वाचनमा होमिए एमालेलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ । महागठबन्धन भए पनि खजुरामा एमालेले आफ्नो विरासत जोगाउने एमालेकै नेताहरु दाबी गर्छन् ।

प्रकाशित मिति : २०७८ चैत २६ गते शनिबार