कर्णालीमा हवाई उडानका लागि मन्त्री कार्चेनको पहल



वीरेन्द्र जैसी । नेपालगन्ज ।

कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा नेपालगन्जबाट हवाइ उडान नभएकोबारे कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले पहल थालेका छन् । मन्त्री लामा शुक्रबार नेपालगन्ज आएर कर्णालीमा उडान नहुँदा नागरिकलाई समस्या भएकोबारे चासो लिएका हुन् । उनले शुक्रबार दिनभरि नेपालगन्जमा बिताएका थिए ।

मन्त्री लामा नेपाल एयरलाइन्सको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेर कार्यालय प्रमुख किरणमान श्रेष्ठसँग कर्णालीमा पर्याप्त उडान नगरिएकोबारे सोधपुछ गरेका थिए । उनले अन्य जिल्लाभन्दा बढी हवाइ उडानको जरुरत भएको, सडक मार्ग सञ्चालनमा नआएको एकमात्र हिमाली जिल्ला हुम्लामा उडानहरु बढाउन निर्देशन दिएका थिए ।

मन्त्री लामाको पहलपछि शुक्रबार हुम्लामा नेपालगन्जबाट पाँचवटा उडान गरेको छ । मन्त्री लामाले मिसन टुडेसँग भने, ‘विगतमा हुम्लामा हप्तामा चारवटा फ्लाइट थियो । ती चारवटाबाट दुईवटा घटाएको रैछ । त्यो कटौती गरेकोलाई पनि फेरि अब चार फ्लाइट उडाउने भनेर पत्र लेखेँ । त्यही ढंगबाट माथि हेडब्वार्टरमा पनि पठाएँ । र उहाँ (किरणमान श्रेष्ठ)लाई पनि सुझाव सल्लाहसहितको निर्देशन दिने कामहरु भयो ।’

निजी एयरलाइन्सहरु सीता र समिटलाई पनि अनुरोध गरेपछि सीता र समिट एयरलाइन्सले दुई-दुईवटा र नेपाल एयरलाइन्सले एक उडान गरेका हुन् । ती सबै उडानहरु प्रतिव्यक्ति १२ हजार रुपैयाँ भाडा लिएर गरिएको छ ।

यसअघि हुम्लाका लागि २१ हजारसम्म भाडा तिर्नुपरेको यात्रुहरुले गुनासो गरेका थिए । निजी एयरलाइन्ससँग पनि कुरा गरेको बताउँदै मन्त्री लामाले ती कम्पनीहरुले पनि चाडै सेवाका लागि नेपालगन्ज फर्किने आश्वासन दिएको जानकारी दिए । ‘म आफैँ सरकारकै व्यक्ति भएकोले मैले सरकारी एयरलाइन्सलाई नै बढी फोकस गरेको छुँ,’ उनले भने, ‘एनएको समस्याहरुलाई छिटोभन्दा छिटो मेन्टेन गरेर सेवा थप्नेबारे सहमति भएको छ । माथिसम्म पनि कुरा भएको छ, हेडब्वार्टरमा ।’

मन्त्री लामाले नेपाल एयरलाइन्सको सेवा प्रवाहका क्रममा पनि अनियमितता भएको भन्नेबारे अनौपचारिकरुपमा धेरै गुनासा सुनिएको समेत बताए । त्यसबारे लिखितरुपमा भने गुनासो प्रप्त नभएको भए पनि यसबारे ध्यानाकर्षण गराएको बताए । मन्त्री लामा सडकमार्ग सञ्चालनमा नआएको देशको एकमात्र जिल्ला हुम्लामा हवाइ उडान पनि नियमित नहुँदा नागरिकले धेरै सास्ती भोगेको आफूले जानकारी पाएपछि त्यस समस्याको समाधानमा गम्भीरताका साथ लागेको बताउँछन् ।

निजी कम्पनीहरुले नेपालगन्ज विमानस्थलबाट कणाली र सुदूरपश्चिमका जिल्लामा हुने उडाहरु स्थगित गरेर विमानहरु पूर्वी क्षेत्रमा लगेका एवम् नेपाल एयरलाइन्सले पनि सेड्युल गरेका उडान रद्ध गरेर चार्टर उडान गरिरहेको सम्बन्धमा मिसन टुडे दैनिकमा रिपोर्ट प्रकाशित भएको थियो । नागरिकहरुले पनि नेपाल एयरलाइन्सले पहुँचका भरमा टिकट दिने गरिएको, टिकटमा कालोबजारी गरिएको, नियमित उडान रोकेर चार्टर उडान गरिएकोबारे गुनासो गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २६ गते शनिबार