केही दिनअघि मात्र नरैनापुर गाउँपालिका–४, घोडेदौरियास्थित कृष्णनगरमा आगलागीबाट २३ घरगोठ जलेर नष्ट भए । करिब तीन घण्टापछि मात्र आगलागी स्थलमा प्रहरी र दमकल पुग्यो ।
नजिकै वडा वा समूह, क्लबलगायतमा दमकल भएको भए आगलागीबाट ठूलो क्षति हुने थिएन । २०७४ सालमा नेपालगन्जमा श्रेया इन्टेरियल डेकोरमा आगलागी भयो । २०७६ साउनमा पनि नेपालगन्जको वीपीचोकमा एकैपटक आठवटा फर्निचर उद्योगमा आगलागी भएको थियो । त्यतिबेला पनि आगो नियन्त्रण गर्न मुस्किल भयो ।
यति मात्र होइन, बाँकेमा बर्सेनि आगलागीका घटना भइरहन्छन् । यस्तै बर्सेनि आगलागी भइरहने स्थानीय तह हो, नरैनापुर गाउँपालिका । नरैनापुरमा गर्मीयाम बढेसँगै आगलागीका घटना सुरु हुन थालेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार जिल्लाका होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमा आगलागी हुन्छ । ग्रामीणदेखि गाउँ र सहरी क्षेत्रमा उद्योग तथा पसलहरुमा आगलागीका घटना हुने गरेका छन् । समुदायका मानिसको असावधानीपूर्वक आगोको प्रयोग र घरको बनोट तथा विद्युतीय तार सट भएर तथा ग्याँस लिक भएरसमेत आगलागीका घटना हुने गरेको पाइन्छ ।
बाँके करिब आधा दर्जन सम्भावित विपदको जोखिममा रहेको जिल्ला हो । गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रा नरैनापुरमा धेरै फुस (घर छाउन हुने खर) का छाना भएका कारण आगलागी हुने गरेको बताउँछन् । उनका अनुसार नरैनापुरमा प्रायः दिउँसोको समयमा आगलागी हुने गरेको छ ।
‘मानिसहरु खेतमा गएका हुन्छन् । घरमा कोही हुँदैनन् । बच्चा मात्रै हुन्छन्,’ उनले भने, ‘कतिपय अवस्थामा असावधानी र बच्चाका कारण आगलागी हुने गरेको छ ।’ चुरोट र बिडी जथाभावी फाल्ने गरेका कारण पनि आगलागी हुने गरेको उनको भनाइ छ । गत वर्षमात्रै नरैनापुरमा दुई सय १५ वटा घर जलेर नष्ट भएका थिए । सूचना अधिकारी मिश्राले विपद प्रतिकार्य योजना निर्माण गरिएको बताए ।
सोहीअनुसार आगलागीविरुद्ध सचेतना फैलाउने काम भइरहेको उनले बताए । यस्तै सहरी विकास कार्यालय र गाउँपालिकाबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छाना हाल्ने काम भइरहेको उनले बताए । फुसको छानामुक्त अभियान नै चलाइएको उनको भनाइ छ ।
यस्तै राहत वितरण गर्ने आपतकालीन अवस्थामा अस्थायी बसोबासको बन्दोबस्त मिलाउने गरिएको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरी अन्य पालिकाका तुलनामा गाउँपालिकामा आगलागीको उच्च सम्भावना नरहेको बताउँछन् । तर विभिन्नखाले विपदको जोखिम रहेकोले विपद प्रतिकार्य योजना निर्माण गरिएको बताउँछन् ।
उनले वडा नम्बर ६ मा आगलागीसम्बन्धी विभिन्न उपकरण पूर्वतयारी अवस्थामा रहेको उनले जनाए । बाँकेका अन्य स्थानीय तहले समेत आगलागीको पूर्वतयारीमा उचित ध्यान दिएका छैनन् ।
विगत १२ वर्षको अवधिमा बाँकेमा सबभन्दा बढी आर्थिक वर्ष २०६८/२०६९ मा पाँच सय ७६ घर जलेर नष्ट भएको थिए भने २०७५÷२०७६ मा पनि एक सय २६ घर जलेर नष्ट र एकै घरका दुई बालकको जलेर मृत्यु भएको थियो । विगत सात वर्षको आगलागीको विवरण हेर्दा बाँकेमा तीनजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
१२ वर्षमा तीनको मृत्यु, ३८ घाइते
विगत १२ वर्षको अवधिमा बाँकेमा सबभन्दा बढी आ.व. २०६८/२०६९ मा ५७६ घर जलेर नष्ट भएको थियो भने आ.व.२०७५÷२०७६ मा पनि १२६ घर जलेर नष्ट र एकै घरका २ बालकको जलेर मृत्यू भएको थियो ।
आगलागीको विवरण हेर्दा बाँकेमा तीन जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका अनुसार आर्थिक वर्ष २०६४/०६५ मा १५७ घरधुरी सहित १ हजार ९९, २०६५/०६६ सालमा १६२ घरधुरी सहित ९७४, २०६६/०६७ मा २६४ घरधुरीसहित १५ सय ९४, २०६७/०६८ मा १९५ जनासहित ११ सय ७८,२०६८/०६९ मा ५७६ घरधुरी सहित ३ हजार ४१ जना प्रभावित भएका थिए ।
२०६९/०७० सालमा १२६ घरधुरीसहित ७१३ जना, २०७०/०७१ म १८१ घरधुरी सहित ११६३ जना, २०७१/०७२ मा ६५ घरधुरीसहित ३९७ जना, २०७३/०७४ मा १८५ घरधुरीसहित ९७० जना र २०७४/०७५ मा १२६ घरधुरीसहित ८८६ जना जनसंख्या प्रभावित भएको थियो ।
जिल्लाभरि विपदको पूर्वतयारी छ
रुपन ज्ञवाली
सूचना व्यवस्थापन अधिकृत
जिल्ला विपद व्यवस्थापन समिति
बाँकेमा आगलागीका दुईवटा कारण छन् । एउटा कारण ग्रामीण क्षेत्रमा हुने फुसका घरका छाना, अर्काे घरका मानिसहरु छुट्टिएर बस्ने, आगो बालेर ननिभाइकन राख्ने । आगोलाई ननिभाउने र गाड्ने गरेका कारण पनि हुने गरेको छ ।
लापरबाहीका कारण पनि हुने गरेको छ । सहरी क्षेत्रमा विद्युत् सट भएर हुने गरेको छ । बाँकेमा सबैभन्दा बढी नरैनापुरमा आगलागी हुन्छ । अन्य पालिकामा भने नगन्यरुपमा छ । नरैनापुरमा धेरै फुसका घर र जोडिएका घर भएका कारण हुने गरेको छ । यो वर्ष पनि नरैनापुरमा सुरु भइसकेको छ । फाटफुट अन्य ठाउँमा समेत हुने गरेका छन् । समितिले हरेक वर्ष विपदको तयारी गर्ने गरेको छ ।
यस्तै हरेक वर्ष विपद प्रतिकार्य योजना निर्माण गरेका छौँ । बाँकेमा विपदबाट हुने क्षति न्यूनीकरणका लागि सरोकारवालाको भूमिका, स्रोतसाधनको आँकलन गरिएको छ ।
अहिले पनि आगलागीका घटना हुनुभन्दा गरिने पूर्वतयारी बैठक बसेर गरिसकेका छौँ । आगलागी न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् । विद्यालयहरुमा सचेतनामूलक गतिविधि गर्ने, डढेलो नियन्त्रणका लागि वन कार्यलयसँग समन्वय भइसकेको छ । वनसँग मिलेर रणनीतिक योजना निर्माणको तयारी छ ।
यस्तै स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरिएको छ । मिडियाबाट जनचेनतामूलक सन्देश प्रवाह भइरहेको छ । राहत वितरण प्रक्रियालाई सरल बनाइएको छ । स्थानीयमा विगतभन्दा सचेतना फैलिएको छ ।
फुसको छानो विस्थापन गर्दैछौँ
लक्ष्मीकान्त मिश्रा
सूचना अधिकारी
नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिका जिल्लाका अन्य पालिकाभन्दा आगलागीका हिसाबमा बढी जोखिमयुक्त छ । यो समयमा प्रायः दिउँसोतिर आगलागी हुने गरेको छ । नरैनापुरमा आगलागीको कारण फुसको छानो भएका घर हो । यहाँको बस्ती बाक्लो छ ।
परिवार संख्यासमेत ठूलो छ । मानिसको असावधानीका कारण आगलागी भएको देखिन्छ । दिउँसो अभिभावक काममा गएको समयमा बच्चाका कारणसमेत घटना हुने गरेको छ । चुरोट र बिडी जथाभावी फाल्ने गरेका कारण पनि आगलागी हुने गरेको उनको भनाइ थियो । गत वर्षमात्रै नरैनापुरमा दुई सय १५ वटा घर जलेर नष्ट भएका थिए ।
जसका कारण मानवीय तथा भौतिक क्षति हुने गरेको छ । विपद प्रतिकार्य योजना निर्माण गरिएको छ । आगलागीबाट बच्न सचेतना फैलाउने काम गरिएको छ । यसको स्थायी उपाय भनेको फुसको छानो विस्थापन हो । सहरी विकास कार्यालय र गाउँपालिकाबाट फुसको छानो विस्थापित गरी टिनको छाना हाल्ने काम भइरहेको छ । फुसको छानामुक्त अभियान नै चलाइएको छ ।
प्रहरीसँग छैन तथ्यांक
पछिल्लो ३/४ वर्षमा बाँकेमा आगलागीबाट कति जनाको मृत्यु भन्ने तथ्यांक प्रहरीसँग नै छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझ्दा आगलागीबाट मृत्यु हुनेको तथ्यांक भेटिएन ।
कार्यालयका डिएसपी तथा सूचना अधिकारी मधुसुदन न्यौपानेले बाँकेमा आगलागीबाट कतिजनाको मृत्यु भएको छ भन्ने एकिन तथ्यांक नभएको बताए । ‘३/४ वर्षको भनेको धेरै हो । यो त निकाल्नै पर्ला,’ उनले भने, ‘म अहिले कार्यालयमा छैन । एकजना नवीन भन्ने भाई हुनुहुन्छ । उहाँलाई भन्दिन्छुँ ।’ पछि हामीले जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत हवल्दार नवीन थापासँग तथ्यांक लिन प्रयास ग¥यौँ ।
उनले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै विगत ३/४ वर्षमा आगलागीबाट मृत्यु भएको कुनै पनि तथ्यांक नभएको बताए । उनका अनुसार व्यक्तिगत सम्पतिमा आगलागी भएको उजुरी भने दर्ता भएको छ । चालू आर्थिक वर्षमा एकजनाले व्यक्तिगत सम्पतिमा आगो लगाएको भन्दै मुद्दा दर्ता गरेको उनको भनाइ थियो । गत आर्थिक वर्षमा भने आगलागीका दुईवटा मात्रै उजुरी दर्ता भएका थिए ।










प्रतिक्रिया दिनुहोस्