राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब गणतन्त्र र राजतन्त्रको मुद्दा सकिएको बताएका छन् । राप्रपा नेपाल बाँकेद्वारा नेपालगन्जमा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अब राजतन्त्र इतिहास भइसकेकोले त्यसको पुनस्र्थापनाको बहसमा अल्झिनुले अस्थिरता मात्रै सिर्जना गर्ने बताए ।
उनले अब अहिलेकै व्यवस्थामा सनातन हिन्दू राष्ट्र कायम गरेर अघि बढ्नुपर्ने धारणा राखे । बिहीबारै नेपालगन्जमा पत्रकारहरुसँग भेटघाट गर्दै थापाले आसन्न स्थानीय निर्वाचनमा राप्रपा नेपाल निर्वाचनमा सक्रियतापूर्वक संलग्न हुने बताए ।
उनले निर्वाचनमा नेकपा एमालेसँग तालमेलका लागि कुरा भइरहेको तर टुंगोमा नपुगेको उनको भनाइ छ । थापाले भने, ‘यो चुनावमा हामी सम्मानजनक स्थानमा हुन्छौँ भन्ने आशा छ । यसका लागि विभिन्न राजनीतिक दलहरुसँग समीकरणका लागि कुरा भइरहेको छ । नेकपा एमालेसँग पनि पहिलो चरणको कुरा भएको छ । तर टुंगोमा पुगिसकेका छैनौँ ।’
राप्रपाको आन्तरिक निर्वाचनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थापाले अब पार्टीले सम्बद्र्धनवाद आदर्श सिद्धान्त एवम् लोकतन्त्र, सनतान हिन्दूराष्ट्र, राष्ट्रवाद र आर्थिक विकास मुख्य एजेण्डा हुने बताए । उनले अब राजनीतिक मुद्दामा मात्रै दलहरु अलमलिएमा जनताले थप दुःख पाउने पपिन जिकिर गरे ।
अध्यक्ष थापाले पछिल्लो समय देशमा मुख्य भनिने दलहको सर्वसत्तावाद सुरु भएको बताएका छन् । उनले देशमा भ्रष्टाचार इतिहासकै उच्च बिन्दुमा पुगेको, एमसीसीको कारण देश थप चलखेलभूमिमा परिणत भएको बताए । देशको अर्थतन्त्र खतरामा परेको भन्दै पूर्व उपप्रधानमन्त्री थापाले बेरोजगारीले प्रत्येक परिवारलाई पिरोलिरहेको उल्लेख गरे ।
उनले राप्रपा नेपालले सबै धर्मको सम्मान र समानता कायम गर्दै सनातन हिन्दू राष्ट्र कायम गराउने लक्ष्य लिएको बताए । उनले कुनै दिन सबै राष्ट्रवादी राप्रपा नेपालमा आउने बताउँदै आफूहरुले लिएको बाटो दूरदर्शी र दूरगामी भएको पनि जिकिर गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्