अढाइ वर्षपछि पूर्वमन्त्रीको लागि डोल्पामा नेपाल एयरलाइन्सको उडान



नेपालगन्ज ।

नेपाल एयरलाइन्सको जहाजले करिब अढाइ वर्षपछि बिहीबार पहिलोपटक डोल्पाको जुफाल विमानस्थलमा उडान ग¥यो । नेपाल एयरलाइन्सले लकडाउनपछि जुफालमा उडान गरेको थिएन ।

जुफालमा नियमित र चार्टर उडान गरिरहेका निजी कम्पनीका विमानहरु पूर्व गएपछि ठप्प भएको जुफाल विमानस्थलमा पनि नेपाल एयरलाइन्सले नियमित उडान गर्नुका पछाडि पनि नेताहरुको ‘पावर’ले काम गरेको छ ।

पूर्वराज्यमन्त्री धनबहादुर बुढा डोल्पा पुग्नु पर्ने भएपछि डोल्पामा नेपाल एयरलाइन्सले नियमित उडान गरेको हो ।

बिहीबार नेपाल एयरलाइन्सले डोल्पासहित जुम्ला र ताल्चामा पनि नियमित उडान ग¥यो । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले धेरै लामो प्रयासपछि नेपाल एयरलाइन्सको जहाज ल्याउन सफल भइएको बताए ।

‘यतिबेला निजी कम्पनीहरु लुक्लातिर गइदिए । नेपाल एयरलाइन्सको जहाज त धेरै लामो समयदेखि आएको नै थिएन । विशेष गरी पूर्व पर्यटन राज्यमन्त्रीज्यूको विशेष पहलमा यहाँ ल्याउन सफल भइयो ।

जनतालाई यसले केही राहत देला भन्ने आशा गरेका छौँ,’ प्रजिअ अधिकारीले भने ।

आज त नेताज्यू आउनु भएर मात्रै आएको होला नि रु भन्ने प्रश्नमा अधिकारी भने, ‘यहाँका सबै दल, नागरिक समाजको नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्छ भन्ने माग छ । एयरलाइन्सबाट पनि हप्तामा एक दुईवटा उडान नियमित हुन्छ भन्ने जानकारी पाएका छौँ ।’

नेपाल एयरलाइन्स नेपालगन्जका वरिष्ठ लेखा अधिकृत पवीन गुरुङ अब हप्तामा एक दिन उडान गर्ने गरी तालिका तोकिएको बताउँछन् । अब अर्को उडान सोमबारका लागि तोकिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २५ गते शुक्रबार