नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । नरैनापुर गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समिति बाँकेले पीडितहरुलाई मंगलबार राहत दिएका हुन् ।
आगलागी पीडितलाई नगदसहित खाद्यान्न तथा अन्य सामग्री सहयोग गरिएको बताइएको छ । वडा नम्बर–४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी हुँदा १५ घर र आठवटा घर जलेर नष्ट भएका थिए ।
आगलागीका कारण घरबारविहीन बनेका उनीहरुलाई राहत दिइएको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाले पीडितलाई चामल, दाल, आलु, नुन, त्रिपाल, डेक्ची, प्याजलगायतका खाद्यान्न र गैरखाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष समुद अहमद शाह, वडा नम्बर ४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा, लेखापाल प्रकाश अधिकारीलगायतले गाउँमै पुगेर राहत वितरण गरेका थिए । यस्तै मंगलबार नै आगलागी पीडितलाई जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राहत वितरण गरेको छ ।
प्रति परिवार नगद १५ हजार, गैरखाद्य सामग्री सेट, कम्बल वितरण गरिएको हो । सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतले राहत वितरण गरेका थिए ।
सोमबार दिउँसो स्थानीय उजागर धोबीको घरबाट सुरु भएको आगलागीबाट १८ लाख बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्