जिल्ला सुरक्षा समितिले सोमबारदेखि जिल्लाका मतदानस्थलहरुको निरीक्षण तथा अनुगमन सुरु गरेको छ । पहिलो दिन कोहलपुरबाट मतदानस्थलहरुको निरीक्षण तथा अनुगमन सुरु गरिएको हो ।
सोमबार कोहलपुरका १४ र खजुरा गाउँपालिकाका आठवटा मदतानस्थलको निरीक्षण तथा अनुगमन गरिएको छ । जिल्लाका एक सय ३६ वटै मतदानस्थलमा निरीक्षण तथा अनुगमन हुने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए ।
‘सोमबारबाट मतदानस्थलको निरीक्षण तथा अनुगमन गर्न सुरु गरिएको छ,’ उनले भने, ‘हामी सबै मतदानस्थलमा पुग्छौं ।’ जिल्ला सुरक्षा समितिले मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्था सुदृढ बनाइ शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्ने उनको भनाइ छ ।
कतिपय मतदानस्थलको मर्मत सम्भार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । ‘केही मतदानस्थलमा पर्खाल छैनन्, खुला छन् । कतिपयका भवन चर्किएका र फुटेका छन्,’ उनले भने, ‘केही राम्रा छन् । राम्रा नभएकालाई मर्मत तथा सम्भार गरेर प्रयोगमा ल्याउँछौं ।’
मतदानस्थल सुरक्षाको दृष्टिकोणले कति सुरक्षित छन् छैनन् भन्ने हिसाबले मतदानस्थलको निरीक्षण तथा अनुगमन गरेको उनी बताउँछन् । उक्त निरीक्षण तथा अनुगमन जिल्ला सुरक्षा समितिले गरेको हो ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खत्रीलगायत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु पनि उक्त निरीक्षण तथा अनुगमनमा सहभागी छन् ।










प्रतिक्रिया दिनुहोस्