गर्मी मौसम सुरु भएसँगै बाँकेमा आगलागीका घटना हुन थालेका छन् । सोमबार दिउँसोमात्र नरैनापुर गाउँपालिका वडा नम्बर–४, घोडदौरियास्थित कृष्णनगरमा भीषण आगलागी भएको छ । स्थानीय उजागर धोबीको फुसले छाएको घरबाट सल्केको आगोले २३ घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर मानवीय क्षति नभए पनि तीनवटा बाख्रा मरेका ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । घरमा बिहान बालेको आगो ननिभाएर अभिभावक काम जाँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।
‘बिहान बालेको आगो ननिभाएर अभिभावक काममा गएका बेला बालबालिका खेल्ने क्रममा आगलागी भएको अनुमान गरेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘मानवीय क्षति नभए पनि आगलागीमा परेर तीनवटा बाख्रा मरेका छन् ।’
उनका अनुसार आगलागीका कारण १५ वटा घर र आठवटा गोठ पूर्णरुपले जलेका छन् । सोमबार दिउँसो आगलागी भएको बेला हावा चलेका कारण सुरक्षाकर्मी र दमकलाई आगो नियन्त्रणमा लिन समस्या भएको थियो । खरले छाएका घरगोठ भएका कारण एकैछिनमा धेरै घरमा आगो फैलिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।
आगलागी करिब तीन घण्टापछि नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीका कारण १८ लाख बढीको क्षति भएको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । आगलागीका कारण घरसहित अन्तपात सबै जलेपछि १५ घरपरिवारको बास खुला आकाशमुनि हुने भएको छ ।
तत्कालको लागि रेडक्रसले त्रिपाल र केही खाद्यान्न सामान सहयोग गरे पनि उनीहरुले खुला आकाशमै बस्न बाध्य भएका हुन् । आगलागी पीडितहरुलाई राहात दिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्