कोहलपुर ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण चुनावी गठबन्धनका विषयमा समस्या उत्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति पक्ष र शेखर कोइराला पक्ष गठबन्धनको पक्ष विपक्षमा उभिएका छन् । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ ।
प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो । तर संस्थापन समूह भने तालमेलको तयारीमा जुटेको छ । लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापन इतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।
तर यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए ।
‘कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,’ उनले भने । सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्दपि स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरे मात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । ‘यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनु पर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,’ उनले भने ।
कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । ‘आम कार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,’ सभापति पुनले भने । यता नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले वर्तमान सत्ता गठबन्धनको विरोधमा नलाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन दाङमा आबद्ध केही पत्रकारहरुसँगको छलफलका क्रममा प्रदेश उपसभापति खनालले वर्तमान सत्ता गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने र यसको विरोधमा नलाग्न आग्रह गरे ।
‘अहिलेको गठबन्धन स्थानीय, प्रतिनिधिसभा तथा प्रदेशसभासम्म नै कायम रहने देखिन्छ,’ खनालले भने, ‘पार्टी केन्द्रीय समितिले नै गठबन्धन गरेर जाने भनिसकेपछि हामी सबै कांग्रेसीहरु गठबन्धनको पक्षमा उभिनुपर्छ, विरोधमा लाग्नु हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्