बाँकेमा सत्ता गठबन्धन एक ठाउँमा नरहने संकेत



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेमा सत्तारुढ गठबन्धन एक ठाउँमा नरहने संकेत देखिएको छ । सत्ता गठबन्धनमा रहेका जनता समाजवादीबाहेकका दलहरु मात्रै गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन् । केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपछि बाँकेमा सुरु भएको गठबन्धन निर्माणको प्रयास करिब अन्तिम चरणमा पुगेको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे स्पष्ट नभएको कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बाँकेमा त्यसको कसरत सुरु भएको थियो ।

उक्त कसरतअन्तर्गत आइतबार भएको बाँकेस्थित गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रमुख तथा प्रतिनिधिको बैठकले बाँकेको विगतको मत अवस्था र हालको यथार्थ वस्तुस्थितिबारे लिखितरुपमा केन्द्रमा पठाउने निर्णय गरेको छ । तर सत्ता गठबन्धनमा रहेको जनता समाजवादी बाँकेले भने जिल्लामा एक्लै लड्ने भन्दै गठबन्धनमा नबस्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष एवम् नेपालगन्जका मेयरका आकांक्षी कमरुद्दीन राईले बाँके जिल्लामा जसपाले गठबन्धन नगर्ने निर्णय गरेको बताए । ‘यो केन्द्रको निर्णय होइन । तर हामीले स्थानीय वस्तुस्थिति हेर्दा जसपा एक्लै चुनाव लड्न सक्षम रहेको देखेका छौँ । त्यस कारण हामी गठबन्धनमा बस्दैनौँ भन्ने निर्णय ग¥यौँ । अरु पार्टीहरु भने गठबन्धन गर्ने निर्णयमा पुगेका छन्,’ राईले भने ।

जसपाले गठबन्धनमा बस्दा नेपालगन्जको मेयरमा दाबी गर्न नपाउने अवस्था आउने भएकोले एक्लै लड्ने निर्णय गरेको नेताहरु बताउँछन् । गठबन्धन हुँदा नेपालगन्जमा मेयरको प्रवल दाबेदार कांग्रेस हुन आउँछ । छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव एवम् नेता अक्कल बमले केन्द्रको निर्णयअनुसार नै अघि बढ्न सबै दलहरु तयार भएको बताए ।

छलफलमा अहिलेको जिल्लाको अवस्थाबारे सबै दलले वस्तुस्थितिको यथार्थ लेखेर केन्द्रमा पठाउने र केन्द्रले गर्ने निर्णयका आधारमा अघि बढ्ने निर्णय भएको उनले बताए । ‘अग्रगामी शक्तिहरु एक हुने कि नहुने भन्ने अहिलेको मुख्य प्रश्न हो । त्यसमा सबै साथीहरु सहमत हुनुभएको छ । यद्दपि कुन मोडेलमा गठबन्धन गर्ने भन्ने अहिले भएको छैन । मात्रै जिल्लाको अवस्थाको साझा विश्लेषण गरेर पठाउने भन्ने निर्णय भएको छ,’ बमले भने । कुन स्थानीय तहमा कसलाई प्राथमिकता दिने भन्नेबारेमा कुनै निर्णय नभएको बमले बताए ।

नेपाली कांग्रेसका बाँके सभापति नारायणप्रसाद गौडेलले पनि केन्द्रको सर्कुलरअनुसार छलफल भएको र उक्त छलफलबाट केन्द्रलाई स्थानीय वास्तविकता अवगत गराउने निर्णय भएको बताए । ‘हामीले केन्द्रको निर्णयलाई नमान्ने भन्ने हुँदैन । केन्द्रले माग गरेको स्थानीय वस्तुस्थिति लखेर पठाउँछौँ । त्यसका आधारमा केन्द्रले कस्तो निर्णय गर्छ त्यसलाई कुर्नुपर्ने हुन्छ,’ उनले भने ।

कांग्रेसभित्र पनि नेपालगन्जमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । केन्द्रको सर्कुलरको दबाबले मात्रै जिल्ला नेतृत्व गठबन्धनको निर्णयमा पुगेको नेताहरु बताउँछन् । जसपाले गठबन्धनमा नबस्ने निर्णय गरेपछि अब नेपालगन्जको मेयरको लडाइँ त्रिपक्षीय बन्ने देखिएको छ । अन्य दलहरुबाट बलियो दाबेदार नआएमा नेकपा एमाले र राप्रपाको गठबन्धन, सत्ता गठबन्धन र जसपा गरी तीन पक्षका उम्मेदवारबीच नेपालगन्जको मेयरका लागि मुख्य प्रतिस्पर्धा हुने अहिलेसम्मका परिदृष्यहरुले देखाएका छन् ।

एमाले र राप्रपाबीच तालमेल हुने संकेत दिँदै केही दिनअघि राप्रपाका महामन्त्री धवलशमशेर राणा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच नेपालगन्जमा भेटघाट भएको थियो । सत्ता गठबन्धनले पनि तालमेल नै गर्ने निर्णय गरेमा दुई मुख्य घटकसामू जसपा फितलो पर्न सक्ने पनि देखिन्छ ।

नेकपा एमाले र राप्रपाको गठबन्धन हुने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको तर भइहालेमा आश्चर्य मान्नुपर्ने कारण पनि नरहेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । बरु उनी सत्ता गठबन्धनको तालमेललाई आश्चर्यको विषय भएको बताउँछन् । मिसन टुडेसँग कक्षपतिले भने, ‘प्रतिपक्षीका विरुद्ध सत्तापक्षको गठबन्धन भएको कही देख्नुभएको छ । तर यहाँ गठबन्धनका लागि दौडधुप गरिरहेका छन् । जति गठबन्धन आए पनि अब बाँकेमा एमालेलाई कसैले हराउन सक्दैन ।’

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार