नेपालगन्जस्थित भेरी अस्पताल परिसर अहिले भग्नावशेषले कुरुप बनेको छ । अस्पताल परिसरका सटरहरु भत्काइएको छ । भत्काइसकेपछि कुरुप बनेको परिसरलाई सौन्दर्यकरण गरिएको छैन । दुईतिर भग्नावशेषका बीचमा केही सटरसहितको भवन भने ठाडै छ ।
अस्पताल विकास समितिले व्यवसायीका सटरहरु मध्यरातमा भत्कायो । तर, रेडक्रस र नेपाल चिकित्सक संघको कार्यालय रहेको उक्त भवन भने भत्काउन सकेन । उक्त भवन भत्काउन नसक्नुको कारण रेडक्रस र चिकित्सक संघ दुवैले अस्पताल विकास समितिको योजनामा असहयोग गर्नु मुख्य कारण रहेको छ ।
अस्पताल परिसरलाई सौन्दर्यकरण गर्न र अस्पताल हातामा मापदण्डबाहेकका पसलहरु सञ्चालनमा रोक लगाउन रेडक्रस बाँकेले विगत १३ वर्षदेखि असहयोग गर्दै आएको पाइएको छ । २०३४ सालमा रेडक्रसको आयआर्जन बढाउन र ब्लड बैंक सञ्चालन गर्न एक हजार वर्गफिट जमिन भेरी अस्पताल विकास समितिले निर्णय गरेर रेडक्रसलाई उपलब्ध गराएकोमा पछि रेडक्रसले आम्दानी बढाउने भन्दै तोकिएभन्दा बढी क्षेत्रफलमा पसल व्यवसाय सञ्चालन गर्नका लागि भवन निर्माण गरेको थियो ।
उक्त भवनलाई रेडक्रस कम्प्लेक्स नाम दिएर व्यवसायिक प्रयोजनका लागि सटहरु भाडामा दियो । यसबाहेक अस्पताल परिसरमा रहेका ३४ वटा सटरमा चिकित्सकका क्लिनिक, प्रयोगशाला, एक्सरे, खाना तथा खाजा पसल मनी ट्रान्सफरहरु थिए ।
बाहिरबाट हेर्दा गेटबाहेक भेरी अस्पताल कहाँ छ बिरामीले पत्तो नपाउने अवस्था थियो । कतिपय बिरामीहरु झुक्किएर निजी मेडिकलमै उपचार गराउन पुग्ने गरेका थिए । अस्पतालभित्र रहेको सुविधा पनि अस्पताल परिसरमै सञ्चालन गरिँदा अस्पतालकै केही कर्मचारी र बिचौलियाहरुले अस्पतालका बिरामीलाई झुक्याएर परीक्षण तथा औषधि खरिदका लागि बाहिरका सटरमा पु¥याउने गरेका थिए ।
यस अवस्थालाई अन्त्य गर्न २०६५ सालमा सरकारले अस्पताल हातामा भएका सटरहरु हटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पालना गर्दै तत्कालिन अस्पताल विकास समितिले सटरहरु हटाउन सहयोग गर्न भन्दै रेडक्रसलाई पत्र लेख्यो । तर रेडक्रसले ती भवनहरु रेडक्रसले नै बनाएकोले अस्पताल विकास समितिको निर्णय कानुनसम्मत नभएको भन्दै पुनर्विचार गर्न अस्पताल समितिलाई लिखित जवाफ दियो ।
त्यसपछि पटक–पटक अस्पताल विकास समितिले रेडक्रसलाई पत्र लेखेर व्यवसायिक सटरहरु हटाउन आग्रह गरेपनि रेडक्रसले त्यसलाई अटेरी गर्दै आएको पाइएको छ । २०७० सालमा राष्ट्रिय सतर्कता केन्द्रले पनि ती सटरहरु भत्काउनुपर्ने निर्देशन दिएको थियो ।
२०७३ साल असार २९ गते स्वास्थ्य मन्त्रालयले अस्पताल परिसरका सटरहरु हटाउन पुनः निर्देशन दिएको थियो । उक्त निर्णयपछि २०७३ साउन १ गतेदेखि पुनः सटरहरु भत्काइने भन्दै अस्पताल विकास समितिले सटरमा बसेका व्यवसायी, रेडक्रस र चिकित्सक संघ सटर खाली गर्न पत्र लेखेको थियो । उक्त पत्रको पनि रेडक्रसले अटेरी ग¥यो ।
त्यसपछि २०७३ कात्तिक २३ गते फेरि अस्पताल विकास समितिले ती सटरहरु हटाउन रेडक्रसलाई पत्र लेखेको अस्पताल विकास समितिको रेकर्डमा देखिन्छ । उक्त पत्रको पनि अटेरी भएपछि २०७४ जेठ २ गते फेरि विकास समितिले रेडक्रसलाई सटर खाली गरिदिन पत्र लेखेको छ । तर ती सटरहरु हटेनन् । रेडक्रसले त अटेरी ग¥यो नै त्यतिबेलाका अस्पताल विकास समितिका पदाधिकारीले पनि सटहरु हटाइहाल्ने भन्दा प्रक्रिया पूरा गर्नका लागि मात्रै पत्र काट्दै आएको पाइएको छ ।
यदि हटाउने उद्देश्यले नै पत्र लेखिएको भए अहिलेको जस्तै पहिले अन्य सटरहरु भत्काएर सुरु गरेपनि हुन्थ्यो । तर, त्यसो हुन सकेन । त्यसपछि हालको अस्पताल विकास समितिले २०७७ माघ २५ गते पुरानो निर्णयका आधारमा अस्पताल परिसरमा मापदण्ड विपपरितका व्यवसाय गर्न रोक लगाइने र अस्पताल परिसरलाई सौन्दर्यकरण गर्ने भन्दै सटहरु खाली गर्ने निर्णय ग¥यो ।
त्यहीबीचमा कोरोना महामारीका कारण रोकिएको सटरहरु हटाउने काम २०७८ को असोजबाट सुरु भयो । तर, उक्त काम आएर रोकियो रेडक्रस र चिकित्सक संघको भवनमा । त्यसपछि समितिले पुनः २०७८ असोज ४ गते १५ दिनभित्र सटरहरु खाली गर्न सूचना निकाल्यो । त्यो सूचनाको पनि यो समाचार तयार पार्दासम्म पालना भएको छैन ।
यहीबीचमा सटरहरु हटाउन नदिन अन्तरिम आदेशको माग गर्दै रेडक्रस अदालतमा गएकोमा अदालतले २०७८ असोज १२ गते रेडक्रसले अस्पताल विकास समितिले दिएको जग्गाभन्दा बाहिर सटरहरु निर्माण गरेकोले ती सटरहरु हटाउन अन्तरिम आदेश दिन नपर्ने निर्णय सुनाइसकेको छ । अस्पताल विकास समितिले चैत १४ गते पुनः ती सटरहरु निर्माण गर्ने पक्षले नै भत्काउन भन्दै १५ दिनको अल्टिमेटम दिएर सूचना जारी गरेको छ । यदि १५ दिनभित्र नहटाएमा समिति आफैले भत्काउने उक्त सूचनामा उल्लेख छ ।
अब अस्पताल विकास समितिसँग ती सटरहरु हटाउन कुनै बाधा नरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल बताउँछन् । ‘अब यो अन्तिम पटक दिइएको समय हो । यसभन्दा अघि पनि हामीले बारम्बार सहजीकण गर्दै र समय दिँदै आएका हौँ । अब १५ दिनभित्र सटर खाली भएनन् वा भत्काइएन भने १६ औँ दिनको दिन हामी आफै डोजर लगाएर भत्काउँछौँ ।
अस्पताल परिसरलाई सुधार गर्ने हाम्रो ध्येय हो । यसमा हामी दृढ छौँ,’ अध्यक्ष धितालले भने । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना भने आफंै सटरहरु भत्काउन तयार नरहेको बताउँछन् । उनी ब्लड बैंकलाई असर नपर्नेगरी सटरहरु रहेको भवनमात्रै भत्काउने भएमा आफूहरुले अवरोध नगर्ने मिसन टुडेलाई बताए ।
उनले भने, ‘अब उहाँहरुले भत्काउने नै हो भने भत्काउनहोस् । ब्लड बैंकचाहीँ सबैलाई चाहिने होला । त्यस विषयमा भने सोच्नुभएकै होला । हामी आफै चाहीँ भत्काउँदैनौँ । उहाँहरुले भत्काउनु भयो भने रोक्न पनि रोक्दैनौँ,’ सम्झनाले भने । यद्धपि क्षतिपूर्तिका लागि भने माग गर्ने उनले बताए ।
‘ब्लड बैंक हटाउने होइन’
रेडक्रसले भवन भत्काउने कुरो उठ्दा भेरी अस्पताल परिसरमै रहेको ब्लड बैंक हटाउन लागियो भन्ने हल्ला फैलाएर असहयोग गर्दै आएको पाइएको छ । हालको अस्पताल विकास समितिले यसै वर्ष २०७८ को असोजमा सटरहरु भत्काउन सुरु गरेपछि पनि रेडक्रसले पत्रकार सम्मेलन गरेर ब्लड बैंकलाई हटाउन खोजिएको र त्यसले यस क्षेत्रको स्वास्थ्य सेवालाई नै प्रभाव पार्ने विज्ञप्ति जारी गरेको थियो ।
तर रेडक्रसको उक्त विज्ञप्ति अफवाहप्रेरित भएको अस्पताल विकास समितिका सदस्य धनीराम वली बताउँछन् । रेडक्रस जबकी ब्लड बैंक हटाइहाल्ने अस्पताल विकास समितिको योजना पनि नभएको र भाडा प्रयोजनका लागि निर्माण गरेका सटरहरु मात्रै भत्काउन लागेको वलीले बताए । ब्लड बैंक रहेको घरलाई नछोइकन सटर र होटलहरु सञ्चालन गरिँदै आएको सडकपट्टी रहेको रेडक्रस कम्पलेक्स मात्रै भत्काइने वलीको भनाइ छ ।
सटर भत्काएर पर्खाल लगाइँदै
अस्पताल परिसरका सटरहरु भत्काएर अस्पताल विकास समितिले उक्त क्षेत्रमा पर्खाल लगाउन लागेको छ । उक्त पर्खाल बाहिरबाट अस्पताल क्षेत्र देखिने गरी आधा सिमेन्टेड र आधा सरियाले बारेर बनाउन लागिएको अस्पताल विकास समितिका सदस्य धनिराम वलीले जानकारी दिए ।
अस्पतालका नायव सुब्बा देवी भण्डारीका अनुसार उक्त पर्खाल करिब डेढ सय मिटर लामो हुने र त्यसका लागि करिब १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । खाली भएको क्षेत्रमा पर्खाल निर्माणका लागि सम्झौता पनि भइसकेर काम सुरु हुन लागेको भण्डारीले बताए । ‘अस्पताल परिसर हेर्न लायक होस्, नागरिकहरु नठगिउन्, नझुक्किउन् भन्ने उदेश्य हाम्रो हो,’ सदस्य वलीले भने ।
‘१६ औँ दिनमा डोजर लगाउँछौँ’
प्रमोद धिताल, अध्यक्ष, अस्पताल विकास समिति यो अन्तिम पटक दिइएको समय हो । यसपभन्दा अघि पनि हामीले बारम्बार सहजीकरण गर्दै र समय दिँदै आएका हौँ । अब १५ दिनभित्र सटर खाली भएनन् वा भत्काइएन भने १६ औँ दिनको दिन हामी आफै डोजर लगाएर भत्काउँछौँ । अस्पताल परिसरलाई सुधार गर्ने हाम्रो ध्येय हो । यसमा हामी दृढ छौँ ।
‘आफैं भत्काउँदैनौँ’
गोबद्र्धनसिंह सम्झना, सभापति, नेपाल रेडक्रस सोसाइटी, बाँके
ब्लड बैंकलाई असर नपर्नेगरी सटरहरु रहेको भवनमात्रै भत्काउने भएमा हामी अवरोध गर्दैनौँ । अब उहाँहरुले भत्काउने नै हो भने
भत्काउनुहोस् । ब्लड बैंकचाहीँ सबैलाई चाहिने होला ।
त्यस विषयमा भने सोच्नुभएकै होला । हामी आफै चाहीँ भत्काउँदैनौँ । उहाँहरुले भत्काउनु भयो भने रोक्न पनि रोक्दैनौँ ।










प्रतिक्रिया दिनुहोस्