वीरेन्द्र जैसी । नेपालगन्ज ।
स्थानीय निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे स्पष्ट नभएको कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बाँकेमा पनि त्यसको तयारी सुरु भएको छ । अर्काेतिर सत्ताबाहिर रहेका राप्रपा र एमाले पनि सहकार्यको कसरतमा रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाबीच आसन्न निर्वाचनमा सहकार्य गर्नेबारे छलफल भएको छ । केपी शर्मा ओली नेपालगन्जमा आएको बेला दुईजनाबीच भेटवार्ता भयो । यससँगै नेपालगन्जमा एमाले र राप्रपाको चुनावी सहकार्य हुने लगभग पक्का भएको नेताहरुले बताउँछन् ।
नेपालगन्ज उममहानगरपालिकाका मेयरसमेत रहेका डा. राणाले अब नेपालगन्जको मेयरमा दाबी नगर्ने बरु प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसेकका छन् ।
यस अवस्थामा राप्रपालाई नेपालगन्जमा राणाजत्तिकै बलियो उम्मेदवार चुन्न अप्ठ्यारो भएकोले राप्रपाले एमालेका मेयरका उम्मेदवारलाई सघाउने र संघीय निर्वाचनमा राणालाई एमालेले सघाउने करिब सहमति भइसकेको बुझिएको छ ।
अध्यक्ष ओलीसँगको भेटबारे मिसन टुडेले राखेको जिज्ञासामा डा. राणाले नेपालगन्जको मात्रै नभइ समग्र देशभरिकै निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको बताए । राणाले भने, ‘यो त हाम्रो देशभरिकै योजना हो । सहकार्य गर्ने भन्ने । त्यही शिलशिलामा ओलीजीसँग भेट भएको हो । कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा छोटो कुराकानी भयो ।
ठ्याक्कै यसै गरिहाल्ने भन्ने भएको छैन ।’ आसन्न निर्वाचनमा नेपालगन्जमा एमाले र राप्रपा मिलेको खण्डमा सत्ता गठबन्धन पनि एकठाउँमा आउनुपर्ने बाध्यता हुने नेताहरु बताउँछन् । यसलाई ध्यानमा राखेर गठबन्धका दलहरुबीच शुक्रबार नेपालगन्जमा छलफल पनि भएको छ । छलफलमा अधिकांश नेताहरुले गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए । उनका अनुसार केही नेताहरुले कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्नेमा मत जाहेर गरेका छन् ।
शुक्रबारको बैठकले छलफलको सुरुवात गरेको जनाउँदै गौडेलले २० गतेसम्म कुन मोडेलमा जाने भन्ने टुंगो लगाइसक्ने बताएका छन् । गौडेलले भने, ‘केन्द्रको एक किसिमको निर्णय आइसकेपछि आज हामीहरु बसेर छलफल गरेका छौँ । स्थानीयस्तरमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा निष्कर्षमा पुग्नलाई अझै केही दिन लाग्ने देखियो । अब २० गतेसम्म कुनै न कुनै टुंगोमा पुगिसक्छौँ ।’ सभापति गौडेलले नेपालगन्जमा राप्रपा र एमाले मिले पनि केही फरक नपर्ने बताए ।
उनले डा. राणा पहिले पनि एमालेमै रहेकोले अहिले एमालेसँग सहकार्य गर्न पुग्छन् भन्ने विषय नौलो नभएको बताए । उनले डा. राणा र ओलीबीचको भेटलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ उपायको संज्ञा दिए ।
यता नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव एवम् नेता अक्कल बमले पनि छलफल सकारात्मक बताए । उनले बाँकेमा पहिलोपटक गठबन्धनका दलहरु एकठाउँमा बसेको र छलफलमा सहभागी कसैले पनि गठबन्धन हुनुहुन्न भन्ने पक्षमा मत जाहेर नगरेको उनले बताए । उनले २० गते बैठक बसेर बाँकेको वस्तुस्थितिका बारेमा टुंगोमा पुगिने बताए ।
‘हामी केन्द्रको स्प्रीटलाई आधार मानेर छलफलमा बसेका हौँ । त्यहीअनुसार यहाँको वस्तुस्थिति टुंगो लगाएर केन्द्रमा पठाउँछौँ,’ बमले भने । यता जनता समाजवादी पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राई भने नेपालगन्जका हकमा आफूहरु गठबन्धन गर्न नहुने पक्षमा रहेको बताउँछन् । यद्दपि अहिले छलफलकै क्रममा रहेको उनको भनाइ छ । जसपामा मेयर पद आफूले पाएमात्रै सहमति गर्नुपर्ने मत रहेको बुझिएको छ । तर कांग्रेस मेयरको दाबी छोड्ने पक्षमा हुने देखिन्न ।
गठबन्धन भएमा को होलान् मेयरका मुख्य दाबेदार ?
सत्ता गठबन्धनको र एमाले–राप्रपाको गठबन्धन भएमा नेपालगन्जमा मेयरका आकांक्षीहरुबीच थप तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । एमाले–राप्रपाको गठबन्धनबाट त मेयरमा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र लगभग पक्का जस्तै देखिन्छन् भने सत्ता गठबन्धनका दलबाट कसले मौका पाउँछन् त्यसको अझै स्पष्ट अनुमान लगाउन सकिने अवस्था छैन ।
यद्दपि मेयर कांग्रेसले पाउने पक्काजस्तै छ । कांग्रेसले मेयर पाएमा सुरेशकुमार कनोडियालाई कांग्रेस केन्द्रले फेरि उम्मेदवार बनाउन सक्ने चर्चा नेता कार्यकर्ता पंक्तिमा छ ।
यसका साथै वर्तमान नेपालगन्ज नगर उपप्रमुख उमा थापामगर र कांग्रेसका नगर सभापति प्रशान्त विष्टलाई पनि दाबेदारकारुपमा हेरिएको छ । गठबन्धन बनेमा भने कनोडिया अनुभव र सबैलाई मान्य हुने नेताकारुपमा अघि आउने सम्भावना रहेको अधिकांशको बुझाइ छ ।
कसको पल्ला भारी ?
गठबन्धन बनेमा अबको निर्वाचनमा नेपालगन्जमा कसको पल्ला भारी होला त्यसको अनुमान अहिले नै लगाउन मुस्किल छ । उम्मेदवारहरुको पक्कापक्की भइसकेपछि त्यसको स्पष्ट अनुमान लगाउन सकिएला ।
तर, अघिल्लो निर्वाचनको परिणामलाई आधार मानेर अहिलेको अवस्थालाई आँकलन गर्ने हो भने मुख्यतः मेयरका उम्मेदवारले पाएको मत र समानुपातिकका लागि दलहरुले पाएको मतलाई आधार मान्नुपर्ने हुन्छ ।
किन भने २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ नेपालगन्जमा प्रत्यक्षमा अहिले एउटै कित्तामा रहेका दलहरु पहिले फरक कित्तामा थिए । एमाले र माओवादीका साझा उम्मेदवार थिए भने कांग्रेसले पनि राप्रपासँग सहकार्य गरेको थियो । २०७४ मा मेयरका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने त्यतिबेलाको एमाले र राप्रपाका उम्मेदवारको मत जोड्दा १९ हजार ९ सय ४० पुग्छ ।
यद्दपि त्यतिबेला एमालेका तर्फबाट मेयरका उम्मेदवार समसुद्दीन सिद्धिकीको भोट मात्र ६ हजार ९ सय ६५ थियो । सिद्धिकी अहिले एकीकृत समाजवादीमा छन् । जो सत्ता गठबन्धनको हिस्सेदार हो । त्यस कारण एमाले पार्टीको मात्रै कति छ भन्ने अनुमान लगाउन २०७४ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मतलाई आधार मान्नुपर्ने हुन्छ ।
समानुपातिकतर्फ त्यतिबेला एमालेले बाँके क्षेत्र नम्बर २ मा ९ हजार आठ सय ७७ मत पाएको थियो भने राप्रपाले चार हजार सात सय २० मत प्राप्त गरेका थिए । स्थानीय तहमा धवलशमशेरले पाएको मत र समानुपातिकमा एमालेले पाएको मतलाई आधार मान्ने हो भने २२ हजार तीन सय ९२ मत पुग्छ ।
२०७४ को स्थानीय निर्वाचनमा अहिले सत्ता गठबन्धनमा रहेका दलहरुको स्थानीय तहमा पाएको मत जोड्दा कांग्रेस र माओवादीको मात्रै १५ हजार ९ सय २८ र समसुद्दीन सिद्धिकीको भोट ६ हजार ९ सय ६५ जोड्दा २२ हजार आठ सय ९३ पुग्छ । यसमा संघीय समाजवादी पनि जोडिन सहमत भएमा भने सत्ता गठबन्धन स्वतः बलियो बन्ने देखिन्छ । यी दलहरुले समानुपातिकतर्फ मात्रै पाएको मत भने एमाले–राप्रपाको भन्दा कम देखिन्छ ।
तर यो अंक गणित अहिलेको सन्दर्भमा जस्ताको तस्तै लागू हुन्छ भन्ने ग्यारेन्टी छैन । स्थानीय निर्वाचनमा अघिल्लो निर्वाचनजस्तै जनताले पार्टी, गठबन्धन वा व्यक्तिलाई रोजे भने कसले लोकप्रिय व्यक्तिलाई मैदानमा उतार्छ भन्ने कुराले मुख्य भूमिका खेल्ने देखिन्छ । नेपालगन्जको मत पनि स्थायी प्रकृतिको नभइ ढुलमुले प्रकतिको हुने गरेको यसअघिका निर्वाचनले देखाउँदै आएका छन् ।
यद्दपि दलहरु अहिले आआफ्नो पक्षमा जनमत बढेको दाबी गर्दै पहिलेको भन्दा बढी नै मत आउने दाबी गरिरहेका छन् । एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्र यसपटक नेपालगन्जमा एमाले पहिलेको जस्तो कमजोर नरहेको दाबी गर्छन् । यता नेपाली कांग्रेस पनि यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।
नेपालगन्ज उममहानगरपालिकाका मेयरसमेत रहेका डा. राणाले अब नेपालगन्जको मेयरमा दाबी नगर्ने बरु प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसेकका छन् । यस अवस्थामा राप्रपालाई नेपालगन्जमा राणाजत्तिकै बलियो उम्मेदवार चुन्न अप्ठ्यारो भएकोले राप्रपाले एमालेका मेयरका उम्मेदवारलाई सघाउने र संघीय निर्वाचनमा राणालाई एमालेले सघाउने करिब सहमति भइसकेको बुझिएको छ ।
देशभरिकै तालमेल हुँदैछ
डा. धवलशमशेर राणा, मेयर, नेपालगन्ज उपमहानगरपालिका
यो त हाम्रो देशभरिकै योजना हो । सहकार्य गर्ने भन्ने । त्यही शिलशिलामा ओलीजीसँग भेट भएको हो । कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा छोटो कुराकानी भयो । ठ्याक्कै यसै गरिहाल्ने भन्ने भएको छैन ।
निष्कर्षमा पुगेका छैनौं
नारायणप्रसाद गौडेल, सभापति, नेपाली कांग्रेस बाँके
केन्द्रको एक किसिमको निर्णय आइसकेपछि हामीहरु बसेर छलफल गरेका छौँ । स्थानीयस्तरमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा निष्कर्षमा पुग्नलाई अझै केही दिन लाग्ने देखियो । अब २० गतेसम्म कुनै न कुनै टुंगोमा पुगिसक्छौँ । गठबन्धन गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।
केन्द्रलाई आधार मानेका छौं
अक्कल बम, प्रदेश सहसचिव, नेकपा माओवादी केन्द्र
हामी केन्द्रको स्प्रीटलाई आधार मानेर छलफलमा बसेका हौँ । त्यहीअनुसार यहाँको वस्तुस्थिति टुंगो लगाएर केन्द्रमा पठाउँछौँ । छलफलमा कसैले पनि गठबन्धन नगर्ने भन्ने धारणा राख्नु भएन । पहिलोपटक एक ठाउँमा बसेका छौँ । अब २० गते निष्कर्षमा पुग्छौँ ।
तालमेल राम्रो हुँदैन
कमरुद्दीन राई, अध्यक्ष, जनता समाजवादी पार्टी बाँके
नेपालगन्जका हकमा हामी गठबन्धन गर्न नहुने पक्षमा छौँ । यद्दपि अहिले छलफलकै क्रममा रहेको हो । हामी छलफलबाट साझा धारणा बनाएर केन्द्रमा पठाउँछौँ ।









प्रतिक्रिया दिनुहोस्