निर्वाचनमा नागरिक समाजको भूमिका प्रभावकारी बनाउन जोड



नेपालगन्ज ।

स्थानीय तहको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता, तथा भयमुक्त वातावरण कायम राख्न बाँकेका नागरिक समाजको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बिहीबार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक छलफलका सहभागीले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पूर्णपालनाका लागि नागरिक दबाब तथा वाचडगको आवश्यकता रहेको औँल्याए ।

कार्यक्रमका सहभागीले कार्यक्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढी हुने भएकाले स्थानीयस्तरबाट त्यसको कार्यान्वयनका लागि पहल थाल्नुपर्ने बताए ।

कार्यक्रममा राजनितिक दलका उम्मेदवारले चुनावमा गर्ने अत्यधिक खर्च, सम्पति विवरण नबुझाउने, बालबालिकाको प्रयोग बढी गर्ने, उम्मेदवारद्वारा विभिन्न प्रलोभन देखाउने, अनुमतिबिना पर्चा पम्पलेट तथा ब्यानर टास्ने, स्थानजस्ता कार्यका बारेमा छलफल भएको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, अधिवक्ता दिपकबहादुर सिंह, बालबहादुर चन्द, अधिकारकर्मी प्रकाश उपाध्याय, कृष्णमुरारीप्रसाद भट्ट, बालकुमारी पन्त, शैलेन्द्र बैश्य, इन्सेकका सरस्वती मल्ललगायतले निर्वाचन आचारसंहिताका बारेमा धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार