कृष्ण ओली । बाँके ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई बाँकेवासीले डुबान र कटानको समस्यालाई उठाउन माग गरेका छन् ।
सीमा क्षेत्रमा बाँध जस्तो अग्लो सडक र लक्ष्मणपुर बाँधका कारण भएको डुबान र कटानको समस्यालाई उठाउन प्रभावित क्षेत्रका नागरिकले माग गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) भारत भ्रमणमा जाँदै छन् । सीमा भारतले बनाएको अग्लो सडक र लक्ष्मणपुर बाँधका कारण डुडुवा, राप्तीसोनारी र नरैनापुरका केही वडा बर्सेनि डुबान तथा कटानमा पर्छन ।
बर्सेनि भारतका कारण हुने डुबान र कटानको समस्या समाधनका लागि भारत सरकारसँग प्रधानमन्त्री देउवाले छलफल गर्ने यहाँका नागरिकको अपेक्षा छ । सीमा सडकको ठाउँठाउँमा पानीको निकासका लागि पुल निर्माण गर्ने र राप्ती नदीको दुवैतर्फ भारतले पक्की तटबन्ध निर्माण गर्नुपर्ने माग प्रधानमन्त्री देउवाले उठाउनुपर्ने स्थानीय बताउँछन् ।
‘प्रधानमन्त्रीज्यू भारत भ्रमणमा गएकाबेला त्यहाँका प्रधानमन्त्रीसँग हाम्रो समस्याको बारेमा कुरा उठाउनुहुन्छ भन्ने आशा लिएका छौं,’ राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने, ‘मिडियामार्फत नै प्रधानमन्त्रीज्यूलाई डुबान र कटान समस्याबारे कुरा गर्न अनुरोध गर्दछौं ।’
लक्ष्मणपुर बाँधका कारण आफ्नो वडाका धेरैजसो भाग बर्खाको बेलामा डुबानमा पर्ने गरेको उनले बताए । ‘नदीमा बाढी आउँदा राप्ती नदीमा भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधका ढोका बन्द गरिदिन्छ,’ वडाध्यक्ष थारुले भने, ‘ढोका बन्द हुँदा पानी बग्न नपाएर नेपालतर्फ नै फर्किंदा डुबान हुँदै आएको छ ।’
प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग कुरा गरेर यहाँको समस्याबारे अवगत गराउनुपर्ने उनले बताए । यहाँका प्रभावित नागरिकले प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यसूचीमा डुबान र कटानको समस्या समाधान गर्ने विषयलाई राख्न आग्रह गरे पनि भ्रमणको कार्यसूचीमा भने समेटिएको छैन । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंह प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बाँधले बर्सेनि गर्ने समस्या समाधानका लागि दबाब दिनुपर्ने बताउँछन् ।
‘लक्ष्मणपुर बाँध र अग्लो सडकका कारण राप्ती नदीमा बर्सेनि आउने बाढीले बाँकेको सयौँ बिगाह जग्गा डुबानमा पर्छ,’ उनले भने, ‘कटान र डुबानका कारण ठूलो जनधनको क्षति हुन्छ । यसबारेमा कुरा उठाउनुहुन्छ भन्नेमा आशावादी छौं ।’
नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाकअहमद शाहले भारतीय समकक्षीसँग प्रधानमन्त्री देउवाले अग्लो सडक र बाँधका कारण देखिएको समस्या समाधानको पहल खोज्न प्रस्ताव राख्नुपर्ने बताए ।
‘हाम्रो पालिकाको कुरा गर्दा कहिल्यै डुबान नहुने धेरै स्थानमा अग्लो सडककै कारण डुबान हुन थालेको छ,’ उनले भने, ‘बर्खामा पानीको निकास रोक्ने गरी बनाइएको सीमा सडकका कारण वर्षायाममा धेरै नेपाली भूमि डुबानमा पर्दै आएकाले समस्याको स्थायी समाधानका लागि भारत सरकारलाई दबाब दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्