व्यक्तिगत जग्गामा वडाध्यक्ष रिजालको हस्तक्षेप



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा बस्ने चन्द्रकला उप्रेतिको घर पश्चिमपट्टि नक्सामा समावेश बाटो छ ।

उक्त बाटो निर्माण गर्न वडा कार्यालयको चासो छैन । तर, उप्रेतिको घरको पूर्वपट्टि खाली रहेको दुई मिटरभन्दा पनि साँघुरो जग्गामा बाटो बनाउने भन्दै वडा कार्यालयले जबरजस्ती गरिरहेको र संरचनाहरु भत्काइदिएको उप्रेतीले बताएकी छन् ।

नक्सामा समेत नभएको बाटो बनाउन स्थानीय केही व्यक्तिहरुको स्वार्थमा लागेर वडाध्यक्ष प्रमोद रिजालले लामो समयदेखि आफूलाई दबाबका साथै मानसिक तनाव दिँदै आएको द्वन्द्वकालमा श्रीमान् बेपत्ता पारिएकी महिला उपे्रतीले गुनासो गरेकी छन् ।

वडाले उप्रेतिको जग्गामा कुनै पनि काम गर्न नपाइने भन्दै बनाउन लागेको इट्टाको पर्खाल पनि मंगलबार नगर प्रहरी लगाएर भत्काइदिएको छ । पर्खाल आफू घरमा नभएको मौकामा गुण्डागर्दी शैलीमा नगर प्रहरी पठाएर भत्काइदिएको भन्दै उप्रेतिले न्यायको गुहार मागेकी छन् ।

यस विषयमा विगत लामो समयदेखि नै विवाद सिर्जना गरिएको पाइएको छ । जबरजस्ती उप्रेतिको हकभोगको जग्गाबाट बाटो निकाल्न खोजिएपछि उप्रेतिले उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामाथि अदालतले पनि कित्ता नम्बर १४१ को जग्गामा उप्रेतिको मात्रै हकभोग रहेको बाटोको नक्सा नभएको फैसला गरिसकेको छ ।

उक्त फैसलापछि पनि स्थानीय केही व्यक्तिहरुसहित वडाध्यक्ष रिजालले आफ्नो व्यक्तिगत सम्पतिमा धावा बोल्न खोजेको र आफ्ना संरचनाहरु भत्काइदिएको उप्रेतिले गुनासो गरिन् ।

उदेकलाग्दो कुरा त के छ भने, उप्रेतिको घर हुँदै बनाउन खोजिएको बाटो कसका लागि बनाउन खोजिएको हो एकिन छैन । किनभने उनको घरको उत्तरपट्टि जाने कुनै घर नै छैन । त्यसरी उनको घरबाटै बाटो निकाल्न जबरजस्ती गर्नुको पछाडि त्यहाँ रहेको खाली जग्गा प्लटिङ गर्ने वा किनबेच गर्ने उद्देश्य रहेको हुनसक्ने उप्रेति बताउँछिन् ।

उनको आशंकासँग वडाध्यक्ष रिजालको भनाइ पनि मेल खान्छ । रिजालले मिसन टुडेसँग कुरा गर्दै भने, ‘उहाँको घरभन्दा उत्तरपट्टिको जग्गा भएका स्थानीयहरुले त्यहाँ बाटो पुगेमा घर बनाउँछौँ भनेर भन्नु भएको छ । तर बाटो छैन । उप्रेतिको घरको छेउबाटै पहिलेदेखि प्रयोग हुँदै आएको बाटो हो भन्ने स्थानीयहरुको भनाइ छ ।’

उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले उप्रेतिको घर भत्काउन खोजिएको नभइ विवादिद क्षेत्रमा कुनै संरचना बनाउन रोक लगाइएको तर्क गरे । तर उक्त क्षेत्र विवादिद नभएको र उप्रेतिकै भोगचलनको जग्गा रहेको अदालतले भनिसकेको अवस्थामा द्वन्द्वकालमा श्रीमान् बेपत्ता पारिएकी महिलालाई दुःख दिनु उपयुक्त नहुने एक स्थानीयले बताए ।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा थापामगरले यस विषयमा विवाद मिलाइदिन उप्रेतिको निवेदन आएको र अब छलफल गरी विवाद टुंग्याउन प्रयास गरिने जानकारी दिएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १७ गते बिहीबार