किसानलाई कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ । सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो ।
प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ । जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गत आर्थिक वर्षदेखि उक्त कल सेन्टर सञ्चालनमा ल्याएको थियो । किसानलाई कृषिसम्बन्धी समस्या सहजै समाधान गर्न सकियोस् भन्ने उद्देश्यले कल सेन्टर सञ्चालन गरिए पनि अहिले प्रयोगविहीन छ ।
जसले किसानले समयमै कृषिसम्बन्धीका समस्या टिपाउन सकेका छैनन् । हप्ताको तीन दिन सञ्चालन हुँदै आएको थियो । उक्त कल सेन्टरमा करिब एक सयजति किसानले गुनासा तथा समस्या टिपाएका तालिम केन्द्रका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जनाए । प्रदेश सरकारको पाँच लाख रुपैयाँमा कल सेन्टर स्थापना गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि उक्त बजेट बढाएर १५ लाखसम्म पु¥याएको छ । तर पनि उक्त कल सेन्टर प्रयोगमा आउन सकेको छैन । कार्यविधि परिमार्जनले गर्दा कल सेन्टर सञ्चालनमा समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । तालिम केन्द्रमा रहेको पुरानो कोठालाई मर्मत गरेर मात्र पुनः सञ्चालनमा ल्याउने योजना थियो ।
तर, उक्त योजना पनि सफल हुन सकेको छैन । किसान कल सेन्टरलाई प्राथमिकता नदिइएको खजुराका अगुवा किसान गेहेन्द्र धितालले बताए । किसान कल सेन्टरका लागि आवश्यक कर्मचारी नियुक्त गर्न सकेको छैन ।
साथै आवश्यक उपकरणसमेत खरिद नहुँदा किसान सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । तालिम केन्द्रका अर्का कृषि प्रसार अधिकृत विवेक पन्तले किसान कल सेन्टरलाई व्यवस्थित बनाउन प्रक्रिया सुरु गरिसकेको जनाए । वैशाखसम्ममा किसान कल सेन्टर पुनः सञ्चालनमा आउने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्