ज्यानमारा टिप्परः बाँकेमा चार महिनामा चार जनाको ज्यान लियो



नेपालगन्ज ।

बाँकेमा चालू आर्थिक वर्षको चैत १५ गतेसम्म टिप्परले चारजनाको ज्यान लिएको छ ।

मंगलबार बिहान मात्र नेपालगन्ज उपमहानगरपालिका– २० को राँझा चोकमा टिप्परले एकजनाको ज्यान लिएको थियो । भे१क ६५७ नम्बरको टिप्परले किच्दा हुम्ला घर भइ राँझा बस्दै आएका ५५ वर्षीय वीरबले भण्डारीको ज्यान गएको हो ।

सडक पार गर्ने क्रममा भण्डारीलाई तिव्र गतिमा नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको थियो । उनको दुर्घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

योसँगै जिल्लामा चालू आर्थिक वर्षमा मात्रै टिप्परको ठक्करबाट चारजनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । पुसमा एक, माघमा एक, फागुनमा एक र चैतमा एकजनाको टिप्परको ठक्करबाट ज्यान गएको हो । मृत्यु हुनेमा सबैजना पुरुष रहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा टिप्परको ठक्करबाट १० जनाको ज्यान गुमाएका थिए । मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन् । खोला तथा नदीबाट नदीजन्य पदार्थ ढुवानीको लागि टिप्परको प्रयोग बढ्दा दुर्घटना दरसमेत बढेको बताइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १७ गते बिहीबार