ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट पैसा असुली हुँदा पनि सडक दुर्घटना न्यूनीकरण हुन नसकेको स्थानीयको आरोप छ । बाँकेमा ट्राफिक नियम कार्र्यान्वयन फितलो छ ।
सामान्य जरिवानापछि कारबाहीबाट उन्मुक्ति पाउने हुँदा पनि सवारी चालकले तिव्रगतिमा सवारी साधन चलाउँछन् । जसले गर्दा सडक दुर्घटनालाई बढवा दिएको छ ।
सडक दुर्घटनाः १
गत फागुन २३ गते राति राँझा चोकमा मोटरसाइकलले ड्युटीमा रहेका प्रहरीलाई ठक्कर दियो । नेपालगन्ज कोहलपुरतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाहीले ज्यान गुमाए ।
सोही दुर्घटनामा सँगै रहेका प्रहरी जवान नरेशकुमार चौधरी गम्भीर घाइते भए । सन्तोष बम ठकुरीले मापसे गरेर चलाएको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
सडक दुर्घटनाः २
मंगलबार बिहानै नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा चोकमै टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भयो । सडक पार गर्ने क्रममा हुम्ला घर भइ हाल राँझामा बस्दै आएका ५५ वर्षीय वीरबल भण्डारीलाई भे१क ६५७ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भयो ।
सडक दुर्घटनाः ३
गत माघ ६ गते राति बैजनाथ गाउँपालिका–५, रंगीलाचोकमा अस्पतालको भ्यानको ठक्करबाट सल्यानकी ६० वर्षीया गोरी बुढाको ज्यान गयो । कौसिल्या अस्पताल प्रालि बाँसगढी शाखाको बाप्र०१–०२५च ११२६ नम्बरको भ्यान बुढालाई ठक्कर दिएर भागेको थियो ।
भ्यानको ठक्करबाट सडक छेउमुनि घाइते उनलाई गस्तीमा गएको प्रहरी टालीले उद्दार गरेर अस्पताल पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
………………………….
पछिल्लो समय बाँकेमा सडक दुर्घटना बढ्दै गएको छ । ट्राफिक नियमको पालना नहुनु र कार्यान्वयन गर्ने निकायले गम्भीर ध्यान नदिँदा पनि बाँकेमा सवारी दुर्घटना दैनिक हुने गरेका छन् ।
ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट पैसा असुली हुँदा पनि सडक दुर्घटना न्यूनीकरण हुन नसकेको स्थानीयको आरोप छ । बाँकेमा ट्राफिक नियम कार्र्यान्वयन फितलो छ । सामान्य जरिवानापछि कारबाहीबाट उन्मुक्ति पाउने हुँदा पनि सवारी चालकले तिव्रगतिमा सवारी साधन चलाउँछन् । जसले गर्दा सडक दुर्घटनालाई बढवा दिएको छ ।
सडक दुर्घटना न्यूनीकरण नहुँदा दुर्घटना भयावह हुँदै गएको छ । बाँकेमा पछिल्लो साढे नौ महिनाको अवधिमा ५४ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाइसकेका छन् । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरको तथ्यांकअनुसार सडक दुर्घटनामा यो अवधिमा पाँचजना बालबालिकाले समेत ज्यान गुमाएका छन् । मिसन टुडेलाई प्राप्त तथ्यांकअनुसार सवारी दुर्घटनामा बालबालिकाको ज्यान जाने क्रम बढ्दै जान थालेको देखिन्छ ।
चालू आर्थिक वर्षको साउनदेखि चैत १५ गतेसम्म सडक दुर्घटनामा बालिका एक, बालक चार, महिला १० र पुरुष ३९ गरी ५४ जनाले ज्यान गुमाएका छन् । एक सय १६ वटा ठूला सवारी दुर्घटनामा परेर ५४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
उनका अनुसार ती दुर्घटनामा परेर ६९ जना गम्भीर र ४२ जना सामान्य घाइते भएका थिए । बाँके ट्राफिकले मिसन टुडेलाई उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा चार, भदौमा पाँच, असोजमा १२, कात्तिकमा तीन, मंसिरमा नौ, पुसमा आठ, माघमा पाँच, फागुन पाँच र चैत १५ गतेसम्म तीनजनाले ज्यान गुमाइसकेका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा बाँकेमा भएका एक सय ४३ सवारी दुर्घटनामा परेर ७७ जनाको ज्यान गएको थियो ।
त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भएका दुई सय ८० वटा सडक दुर्घटनामा ७३ जनाले ज्यान गुमाएका थिए । यी दुवै आर्थिक वर्षमा कोरोना कहरका कारण भएको लकडाउनका कारण सवारी साधन कम चलेका थिए । तर सवारी दुर्घटनाको दर र ज्यान गुमाउनेहरुको संख्या हेर्दा बर्सेनि बढिरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जंगल क्षेत्रको राजमार्गभन्दा सहरी दुर्घटनाको दर बढी रहेको बताउँछन् । ‘जंगल क्षेत्रमा तिव्र गतिका कारण ठोक्किएर दुर्घटना हुने दर बढी छ,’ उनले भने, ‘मानव बस्ती भएको क्षेत्रमा भएका दुर्घटनामा मानिसको ज्यान धेरै जाने गरेको देखिन्छ ।’ सवारी चालक र पैदलयात्री दुवैका कारण सवारी दुर्घटना हुने गरेको डिएसपी न्यौपाने बताउँछन् ।
सवारी दुर्घटना दर बढेपछि त्यसको न्यूनीकरण गर्नतर्फ कसैको ध्यान जान नसकेको नेपालगन्जका निलराज अधिकारी बताउँछन् । ‘सडक खासगरि टिप्परलगायतका ठूला सवारी साधनले आंतक नै मच्चाउँछन्भन्दा हुन्छ,’ उनले भने, ‘सडकमा ट्राफिकको उपस्थिति रहे पनि सवारी दुर्घटना न्यूनीकरणभन्दा पनि अनुचित काममा नै व्यस्त रहेको देखिन्छ ।’ ट्राफिक प्रहरीले ध्यान दिनसके सवारी दुर्घटनामा कमी आउनसक्ने उनी बताउँछन् ।
‘सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण दुर्घटना हुने हो । ठाउँअनुसार यिनै कारणले दुर्घटनामा भूमिका खेलिरहेको हुन्छ,’ स्थानीय शिवराज सञ्ज्यालले भने । सवारी साधनको प्रयोगलाई व्यवस्थित गराउने उद्देश्यले २०२० मा सवारी ऐन तथा नियम लागू गरियो ।
सवारी नियमको पालना चालकदेखि पैदलयात्रुसम्मका प्रभावकारी ढंगले नगर्दा धेरै दुर्घटना हुने गरेको देखिन्छ । ट्राफिक संकेतको ज्ञान नहुनु भएमा पनि त्यसको पालना नगर्नु, जेब्राक्रसिङको प्रयोग नगर्नु सवारी चापको वृद्धिअनुरुप सडक विस्तार हुन नसक्नु भएका सडकहरू पनि व्यवस्थित र सवारीमैत्री नहुनुजस्ता कारणहरूले गर्दा सडक दुर्घटनामा व्यापकरुपले वृद्धि भएको उनको भनाइ छ ।
अनियन्त्रित गतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रण गर्न अत्यधिक सडक दुर्घटना हुने स्थान तथा बस्ती छेउछाउको व्यस्त सडकमा सवारीका साधनको गति नाप्ने यन्त्र ‘राडर गन’ को व्यवस्था गर्नुपर्ने कुरा पनि सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । सडकमा डिभाइडर रिफ्लाक्टर ट्राफिक सिग्नल, ट्रयाफिक लाइट ट्राफिक पोस्ट आकस्मिक उपचार केन्द्र सडक, ढल, सडकपेटी यात्रु प्रतीक्षालय आदिका सुविधामा समेत ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
सार्वजनिक यात्रुबाहक यातायात आचारसंहित २०६७ को नियम ६ (१) अनुसार सार्वजनिक सवारी साधनमा चालक परिचालकले यात्रुसँग र यात्रुले पनि उनीहरूसँग सभ्य भाषाको प्रयोग गरी कुराकानी गर्नुपर्ने व्यवस्था भए पनि यात्रु र सवारीचालक सहचालक दुवै पक्षले त्यस नियमलाई पालना गरिएको पाइँदैन । सवारी चलाउँदा कुराकानी गर्ने मोबाइलमा गफ गर्ने, रेडियो वा एयरफोनमा मस्त हुन नपाउने कानुनी व्यवस्था भए पनि त्यसको पालना नहुँदा पनि धेरै दुर्घटना भइरहेका छन् । त्यसैले भएका नियमहरूको कडाइका साथ पालनामा जोड दिनुपर्ने देखिन्छ ।
दुर्घटना न्यूनीकरणभन्दा राजस्वमा ध्यान
ट्राफिक प्रहरीको प्रमुख कारण, ‘सडक दुर्घटना न्यूनीकरणमा काम गर्ने ।’ तर बाँकेको ट्राफिक सडक दुर्घटना न्यूनीकरणभन्दा बढी राजस्व संकलनमा केन्द्रित देखिएको छ । कारबाहीस्वरुप राजस्व संकलन गर्दा मात्रै सडक दुर्घटना न्यूनीकरण हुन्छ त ? अहः हुँदैन ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न निकायसँग समेत समन्वय गरेर चेतना तथा सन्देशमूलक कार्यक्रम गर्न सक्छ । सवारी चालक अनुमतिबिना सवारी चलाएको भए जरिवाना र कारबाहीसमेत गरेर सडक दुर्घटना न्यूनीकरणमा सडक दुर्घटना न्यूनीकरणका नियम पालना गराउने, गाडीमा क्षमताभन्दा यात्रु वा सामान बढी नराख्ने, ट्राफिक र गाडीका समितिबाट निरन्तर अनुगमनलगायतका कार्य गर्दा पनि सडक दुर्घटना कम गर्न सकिन्छ ।
तर बाँके ट्राफिक प्रहरी राजस्व संकलनमा मात्र केन्द्रित हुँदा सडक दुर्घटनामा कमी आउन सकेको छैन । कतिपयले त ट्राफिक सडक दुर्घटनाभन्दा पनि पैसा असुलीमा लागेको आरोप लगाउने गर्छन । सडक दुर्घटनामा कमी नआउँदा उक्त आरोप खण्डन हुन नसक्ने स्थानीय बताउँछन् ।
फितलो ट्राफिक व्यवस्थापन
नेपालगन्जको बढी भीडभाड हुने क्षेत्र सेतुबिके चोक, सदरलाइन, न्यूरोड, भेरी अस्पताल अगाडि, सब्जीमण्डी, त्रिभुवन चोकलगायत नगरभित्रका सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।
ट्राफिक प्रहरीको फितलो उपस्थितिले चालक मनलाग्दी सवारी साधन चलाउँछन्, पार्किङ गर्छन् । जहाँ पार्किङ निषेध लेखिएको छ, त्यहाँ यत्रतत्र पार्किङ गरिन्छ । तर त्यसको पालना कसले गर्ने र कसले नियमन गर्ने ? जहाँ पार्किङ निषेध गरिएको छ, त्यही पार्किङ हुन्छ ।
सूचना राखेको ट्राफिक प्रहरीको उपस्थिति नहुँदा उक्त सूचना प्रभावकारी हुन सकेको छैन । ‘यातायात व्यवस्थापन फितलो हुँदा सर्वसाधारणहरू हिँड्न सक्ने अवस्था हुँदैन,’ न्यूरोडका व्यवसायीले भने, ‘बिहानको समयभन्दा साँझतिर यहाँ जामनै लाग्छ ।’ सहरी क्षेत्रका बजारमा ट्राफिक नियमको कुनै पालना छैन ।
अस्तव्यस्त ट्राफिक व्यवस्थापन हुँदा सदरलाइन साँझको समयमा जामसमेत लाग्ने गर्छ । ‘सवारी साधनको बाक्लो चापका कारण साँझ प्रायः जाम हुन्छ,’ बटुवा सञ्जु अहमद भन्छन्, ‘जाममा हुँदा समयमै गन्तव्यसम्म पुग्न सकिँदैन ।’ ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा यहाँ पछिल्लो समय सडक अस्तव्यस्त हुने गरेको उनको भनाइ छ । सडक सुरक्षामा ट्राफिक प्रहरी गम्भीर भएर लाग्नु पर्ने र सवारी चालकले पनि ट्राफिक नियम अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ ।
नगरभित्रका सडक अस्तव्यस्त हुँदा पनि ट्राफिक प्रहरीको उपस्थिति नहुनु र जहाँ ट्राफिक प्रहरीको उपस्थिति कम हुनुपर्ने त्यहाँ बढी हुँदा सर्वसाधारणले ट्राफिक प्रहरीप्रति शंका उत्पादन भएको छ, ‘पैसा असुल्ने ठाउँमा प्रहरीको उपस्थिति रहन्छ, यन्त्र हुँदैन ।’ अव्यवस्थित सञ्चालन हुने यातायातका साधनले जोखिम मात्र बढाएको छैन ट्राफिक प्रहरीको कार्यकुशलता पनि प्रष्ट्याएको छ । नगरभित्रका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ भने सडक दुर्घटनाको पनि जोखिम उत्तिकै बढाएको छ ।
नेपालगन्जमा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित सडकहरू, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्ताहरूमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृतिका कारण ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एवम् चुनौतीपूर्ण बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शाहले जनाए ।
दुर्घटना न्यूनीकरण कसरी ?
दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेका छन् । दुर्घटनाले हाम्रो सडक सुरक्षा दक्षिण एसियामै कमजोर भएको देखाउँछ । ट्राफिक नियम पालना गर्न सहयोग पु¥याउने, सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्ने, पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकको सुरक्षाका सम्बन्धमा काम गर्ने भनेर हामीकहाँ धेरै संघसंस्था खुलेका छन् ।
पत्रपत्रिका र सामाजिक सञ्जालमा काफी प्रचारप्रसार पनि भएको देखिन्छ र पनि हाम्रो देशमा दुर्घटना र मृत्यु हुनेको संख्या रत्तिभर घटेको छैन, बरु दिनप्रतिदिन बढेको देखिन्छ ।
संयुक्त राष्ट्रसंघको सडक सुरक्षा दशक कार्ययोजना तयार गरेर कार्यान्वयन गर्दा पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउन सकिएको छैन । आखिर यति धेरै दुर्घटना के कारणले हुन्छ र यसका जिम्मेवार को–को हुन् ? यस्ता घटना किन हरेक वर्ष दोहोरिइरहन्छन् ? यसबारे यहाँ केही विश्लेषण गर्न खोजिएको छ ।
आरोप स्वीकार्दै ट्राफिक
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाह ट्राफिक प्रहरीमाथि प्रश्न उठेको स्वीकार गर्छन । ‘दुर्घटना बढ्दै जाँदा ट्राफिक प्रहरीमाथि केही प्रश्न उठेका छन् ।
दुर्घटना बढ्दा त्यो स्वभाविक पनि देखिन्छ,’ उनले मिसन टुडेसँग भने, ‘म ट्राफिक प्रहरी प्रमुखको रुपले त्यसको जिम्मेवारी लिन्छुँ र लिनुपर्छ ।’ स्थानीयस्तरबाट टिप्परको विषयलाई लिएर ट्राफिक प्रहरीमाथि प्रश्न उठेपछि अब टाइम कार्डको तयारी थालिएको ट्राफिक प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
‘टिप्परलाई लिएर हामीमाथि केही प्रश्न उठेका छन् । त्यसैले तिव्र गतिमा सञ्चालन हुनबाट रोक्न टाइम कार्ड लगाउने की भनेर छलफल चलिरहेको छ,’ उनले भने । सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले मात्र नसक्ने बताउँदै ट्राफिक प्रहरी निरीक्षक शाहले भने, ‘राज्य सबै ठाउँमा पुग्न सक्दैन । सवारी चालक तथा मानिसले समेत नियमको पालना गरिदिनुपर्छ ।’
मंगलबार थप एकको मृत्यु
बाँकेमा चालू आर्थिक वर्षको चैत १५ गतेसम्म टिप्परले चारजनाको ज्यान लिएको छ । मंगलबार बिहान मात्र नेपालगन्ज उपमहानगरपालिका– २० को राँझा चोकमा टिप्परले एकजनाको ज्यान लिएको थियो । भे१क ६५७ नम्बरको टिप्परले किच्दा हुम्ला घर भइ राँझा बस्दै आएका ५५ वर्षीय वीरबले भण्डारीको ज्यान गएको हो ।
सडक पार गर्ने क्रममा भण्डारीलाई तिव्र गतिमा नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको थियो । उनको दुर्घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
योसँगै जिल्लामा चालू आर्थिक वर्षमा मात्रै टिप्परको ठक्करबाट चारजनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । पुसमा एक, माघमा एक, फागुनमा एक र चैतमा एकजनाको टिप्परको ठक्करबाट ज्यान गएको हो । मृत्यु हुनेमा सबैजना पुरुष रहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा टिप्परको ठक्करबाट १० जनाको ज्यान गुमाएका थिए । मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन् । खोला तथा नदीबाट नदीजन्य पदार्थ ढुवानीको लागि टिप्परको प्रयोग बढ्दा दुर्घटना दरसमेत बढेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्