भव्य समारोहकाबीच नरैनापुर साक्षर पालिका घोषणा (फोटोफिचर)



बाँके ।

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । सोमबार नरैनापुरमा भव्य समारोहकाबीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई साक्षर घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै साक्षर भएको घोषणा गरे । यसअघि गाउँपालिकालाई साक्षर बनाउन लागि ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।

उनका अनुसार नौ हजार पाँच सय १८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन थियो । साक्षर गाउँपालिका घोषणाको लागि १५ देखि ६० वर्ष उमेर समूहका ९० प्रतिशत मानिसहरु साक्षर हुनुपर्छ । नरैनापुरमा यो उमेर समूहका ९६ प्रतिशत बढी नागरिकहरु साक्षर भएपछि पालिकालाई साक्षर घोषणा गरिएको शाखा प्रमुख थारुले बताए ।

उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले ढिलै भए पनि गाउँपालिकाले आफ्नो लक्ष्य पूरा गरेकोमा धन्यावाद दिए । ‘बाँकेमा छैटौँ पालिकाको रुपमा नरैनापुरले आफूलाई साक्षर घोषणा गर्न सफल भएको छ,’ उनले भने, ‘छोटो समयमा नै कुनैबेलाको दुर्गम क्षेत्र भनेर चिनिने साक्षर पालिकाको रुपमा अब चिनियो ।’

गाउँपालिका अध्यक्ष शाहले आफूहरुको लक्ष्यअनुसार नै पालिकालाई साक्षर घोषणा गरिएको बताए । ‘साक्षर घोषणा अभियानमा साथ सहयोग दिने सबैलाई म धन्यवाद दिन चाहन्छुँ । छोटो समयमा नै हामीले ठूलो उपलब्धि पाएका छौं,’ उनले भने, ‘हामी जनप्रतिनिधि आएपछि नरैनापुरको शिक्षा क्षेत्रले ठूलो फड्को मारिसकेको छ । सो क्रममा नै साक्षर पालिका घोषणा गर्न सफल भयौं ।’

अझै पनि शिक्षा क्षेत्रमा लगानी गर्न पालिकाले नछोड्ने अध्यक्ष शाहले प्रतिबद्धता जनाए । ‘नरैनापुरका सबै विद्यालयहरु स्तरोन्नति भएका छन् । विद्यार्थीको संख्या पहिलेको भन्दा धेरै बढिसक्यो । ‘शिक्षा गरिएको लगानीको प्रतिफल बिस्तारै मिल्दैछ,’ उनले भने, ‘यहाँका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नुपर्छ । कुनै समस्या भए पालिकाले सहयोग गर्छ ।’

छात्राहरुलाई विद्यालय आउने वातावरण निर्माण गर्नको लागि साइकलसमेत वितरण गरिएको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले यहाँका नागरिकलाई औंठा छाप लगाउनेबाट हस्ताक्षर गर्नसक्ने बनाइएको जानकारी दिए । ‘नागरिकहरुले अब औठा छाप होइन । आफ्नो हस्ताक्षर आफैँ गर्नुहुनेछ,’ उनले भने, ‘कहिँकतै कोही बाँकी रहेमा अभियान चाहिँ अझै जारी हुन्छ ।’

साक्षर पालिका घोषणाको अवसरमा अभियानमा साथ र सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । नरैनापुरलाई साक्षर पालिका घोषणा गरिएसँगै जिल्लामा साक्षर पालिकाको संख्या ६ वटा पुगेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म नरैनापुरसहित कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्र साक्षर घोषणा हुन बाँकी रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १४ गते सोमबार