नरैनापुरलाई आज साक्षर पालिका घोषणा गरिदैं



बाँके ।

बाँकेको नरैनापुर गाउँपालिकालाई आज (सोमबार) भव्य समारोहकाबीच साक्षर घोषणा पालिका घोषणा गरिने भएको छ । साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको अभियान अनुरुप नरैनापुरले साक्षर पालिका घोषणा गर्न लागेको हो ।

साक्षर पालिका घोषणा गर्ने सबै तयारी पूरा भइसकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘बैशाखभित्रै पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरेका थियौं’ उनले भने, ‘हाम्रो लक्ष्यअनुसार नै विभिन्न सूचकहरु पूरा भएपछि साक्षर पालिका घोषणा गर्न गइरहेका छौं ।’

यसअघि गाउँ शिक्षा समितिको बैठकले साक्षर नेपाल घोषणा गर्ने सरकारको अभियानअनुरुप नरैनापुरलाई बैशाखसम्ममा साक्षर पालिका घोषणा गर्ने निर्णय गरेको थियो । ‘साक्षर पालिका नरैनापुर, बनाउँछौ साक्षर छैन दुर’ भन्ने मुल नाराका साथ साक्षरता अभियान चलाएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।

उनकाअनुसार जिल्ला समन्वय समिति बाँकेसँगको प्रतिबद्धता तथा गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम ‘साक्षरता तथा अभिभावक शिक्षा’ अभियानकै रुपमा सञ्चालन गरिएको थियो । साक्षरता सम्बन्धि प्रचलित मापदण्डहरु पूरा भएपछि पालिकालाई साक्षर पालिका घोषणा गर्न लागिएको नरैनापुर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

‘साक्षर घोषणाको लागि पूरा गर्नुपर्ने सूचक पूरा गरेपछि हामिले साक्षर पालिका घोषणा गर्न गइरहेका हौं’ उनले भने, ‘बाँकी रहेका सूचकहरुलाई क्रमश पूरा गर्दै लैजानेछौं ।’ साक्षर पालिका घोषणा कार्यक्रम महेन्द्र मावि मटेहियामा हुने नरैनापुर गाउँपालिकाले जनाएको छ ।

औपचारिक कार्यक्रम पूर्व विभिन्न झाँकीसहितका ¥याली निकालिने नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । ‘साक्षर पालिका घोषणा कार्यक्रमलाई भव्य बनाउनेछौं’ उनले भने, ‘विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रमाणपत्र दिने कार्यक्रम समेत तय भएको छ ।’

यसभन्दा अगाडी पाँच पालिका घोषणा

हालसम्म बाँकेका आठ पालिकामध्ये पाँच पालिका साक्षर घोषणा भइसकेका छन् ।

आज घोषणा हुन गइरहेको नरैनापुर गाउँपालिका छैटौं पालिका हुनेछ । यसअघि कोहलपुर नगरपालिका, राप्तीसोनारी, खजाुरा, जानकारी र बैजनाथ गाउँपालिका साक्षर पालिका घोषणा भइसकेका छन् ।

नरैनापुर गाउँपालिका साक्षर घोषणा भएपछि जिल्लाका दुई पालिकामात्र साक्षर घोषणा गर्न बाँकी हुन्छन् । साक्षर घोषणा गर्न बाँकी रहने पालिकाहरुमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १४ गते सोमबार