सडक डिभिजन कार्यालय नेपालगन्जले सुर्खेत रोडको नेपालगन्ज–कोहलपुर सडकखण्डमा सडक मिचेर बनाएको संचरना हटाउन सुरु गरेको छ । सडक क्षेत्रमा बनेका संरचना आफँै हटाउन सर्वसाधारण संघसंस्थालाई जारी गरिएको सूचना अटेरी गरिएपछि डिभिजन र प्रशासनले सर्वपक्षीय सहमति गराएर संरचना हटाउन सुरु गरिएको हो ।
बिहीबार डोजरसहित बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुखसहित सडक डिभिजन प्रमुख होमबहादुर एसी सडक अतिक्रण हटाउन कोहलपुर पुगेका थिए ।
तर, कोहलपुरका व्यवसायीहरुले एक हप्ताको समय मागेर आफैँ हटाउने बताएपछि त्यहाँका संरचना हटाउने काम एक हप्ताका लागि स्थगित गरिएको छ । ‘उहाँहरुले एक हप्ताको समय माग गरेपछि हामीले यति संरचना हटानउनु भनेर मार्किङ गरिदिएका छौँ । आशा छ आफैँ हटाउनु हुनेछ । हटाउनु भएन भने हामी आफैँ हटाउँछौँ,’ एसीले भने ।
कोहलपुर छोडेर जानेकी गाउँपालिकामा पर्ने सडक खण्ड क्षेत्रबाट अतिक्रमण हटाउने कामको थालनी भएको सडक डिभिजन प्रमुख एसीले जानकारी दिए ।
जानकी गाउँपालिकाअन्तर्गत पर्ने सडक खण्डका केही अस्थायी संरचना र पर्खालहरु बिहीबार भत्काइएको एसीले बताए । शुक्रबार पुनः सोही ठाउँबाट सडक अतिक्रण हटाउने कामलाई निरन्तरता दिइने एसीले बताएका छन् । उनले अक्रिमण हटाउने काममा सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन् ।
मंगबलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय छलफलमा सडक क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचनाहरु हटाउने सर्वपक्षीय सहमति भएको थियो ।
हाललाई नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो र कोहलपुरको बजार क्षेत्रको आठ सय मिटरमा सडकको मध्यबिन्दुदेखि २१ मिटर दायाँबाँयाँभित्र बनेका संरचना र बाँकी क्षेत्रमा मध्यबिन्दुदेखि २५ मिटभित्र बनेका संरचना हटाइने छन् ।
सुर्खेत रोड क्षेत्रमा सर्वसाधारण, व्यापारीदेखि सरकारी कार्यालयका आठ सय ६ वटा संरचना बनेका तथ्यांक डिभिजनले संकलन गरेको छ । सरकारी निकायले नै सडक क्षेत्रमा संरचना निर्माण गरेका छन् ।
सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँबायाँ मुख्य सडक र त्यसको दुवैतर्फ ६–६ मिटर क्षेत्र भित्रमा कुनै पनि संरचना निर्माण गर्न नदिने गरी निषेध गर्ने एवम् त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ ।










प्रतिक्रिया दिनुहोस्