कोहलपुर ।
आफ्ना माग पूरा नभए पेट्रोलियम पदार्थको बिक्रीवितरण ठप्प पार्ने मध्यपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनले चेतावनी दिएको छ । आफ्ना माग सरकारले सम्बोधन नगरे नेपालगन्जलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक्ने एसोसिएसनले चेतावनी दिएको हो ।
मध्यपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्वराज खनालले माग पूरा गर्न सरकार तयार नभए चैत २० गतेदेखि पेट्रोलियम पदार्थको बिक्रीवितरण नगर्ने बताए । ‘केन्द्रको निर्णयअनुसार नै हामी यहाँ पनि अहिले आन्दोलनमा छौं,’ उनले भने, ‘अहिले मागको बारेमा यहाँका सरोकारवालाको ध्यानाकर्षण गराइरहेका छौं ।’
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । सोहीअनुसार बाँकेसहितका जिल्लामा समेत अहिले आन्दोलन भइरहेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीवापत पेट्रोलियम व्यवसायीले पाउँदै आएको कमिसन घटाउनेलगायतका निर्णय गरेको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले कटौती भएको कमिसन पाउनुपर्ने, ढुवानी भाडादर वृद्धि गर्नुपर्नेलगायतका माग सरकारसमक्ष राखेका छन् । यीलगायतका माग पूरा नभए नेपालगन्जलगायतका यस क्षेत्रमा चैत २० गतेपछि पेट्रोलियम पदार्थको बिक्रीवितरण ठप्प पार्ने अध्यक्ष खनालले चेतावनी दिए ।
पेट्रोलियम व्यवसायीहरुले यसअघि नै चैत २० गतेसम्मको अल्टिमेटम दिँदै सरकारलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र बुझाइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्