16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

ज्ञानोदय खजुराको ४४औँ वार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७८  

खजुरा ।

खजुरामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले विद्यालयमा निर्मित नयाँ तीनवटा भवनको उद्घाटन गरेका थिए । त्यस्तै विद्यालयको साइन्स ल्याब र कम्प्युटर ल्याबको समेत उद्घाटन गरिएको थियो ।

खजुरा गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय र १७ वटा संस्थागत विद्यालय रहे पनि ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा अन्यभन्दा विद्यार्थीको चाप धेरै रहेको प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । ज्ञानोदय लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयअन्तर्गत रहेकाले पनि विद्यार्थीको चाप हरेक वर्ष बढ्ने गरेको प्रधानाध्यापक सापकोटाले बताए ।

विक्रम सम्वत् २०३४ सालमा माटोको गाह्रो र खरको छानो भएको टहरोबाट स्थापना भएको विद्यालयले उल्लेखनीय प्रगति गर्न सफल भएको सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालयले २०७४ सालदेखि प्राविधिक धार सिभिल इञ्जिनयरिङतर्फको पढाइसमेत सञ्चालन गरिरहेको छ । विद्यालयको हाल सुविधा सम्पन्न १० वटा भवनका ६५ वटा कोठामा पठनपाठन, ल्याब, पुस्तकालय, स्टोरका साथै प्रशासनिक कार्य हुँदै आएको छ । विद्यालयले २४औँ वार्षिकोत्सवको अवसरमा विद्यालयलाई सहयोग पु¥याउनेलाई सम्मानित गरिएको थियो । साथै विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले ज्ञानोदय जस्तो विद्यालयका कारण खजुराको शिक्षा क्षेत्र बलियो बनेको बताए ।

अध्यक्ष कक्षपतिले खजुरालाई शिक्षाको हब बनाउन विद्यालयको प्रमुख हात रहने भन्दै यसतर्फ सबै विद्यालयले सोच्न पर्नेमा जोड दिए । उनले शिक्षा नै विकासको मूल आधार रहेकाले गाउँ पालिकाले पनि यसको विकासमा विशेष ध्यान दिएको उल्लेख गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर केसी, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खजुरा गाउँपालिका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्ल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, सुरक्षा निकाय, अभिभावक, विद्यार्थी तथा पत्रकारलगायतको उपस्थिति थियो । वार्षिकोत्सव अवधिभर विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।

दीर्घ सेवा पदकद्वारा सम्मानित

खजुरामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले विद्यालयमा २५ वर्ष अनवरत सेवा गर्नेलाई सम्मान गरेको छ । वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, विनोद श्रीवास्तव, सरन सापकोटा, पदमा शर्मा, चन्द्रप्रकाश शर्मा, कमल चौधरी र सुरक्षा गार्ड रामबहादुर थापालाई दीर्घ सेवा पदकले सम्मान गरिएको थियो ।

 

प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७८     11:51:55 AM  |