16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

सुर्खेतरोडको सडक अतिक्रमण हटाउन सकसः आज सर्वपक्षीय छलफल हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ८, २०७८  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

सडक डिभिजन कार्यालय नेपालगन्जको सामुन्ने सुर्खेत रोडमा दुईवटा टहरा हाकाहाकी निर्माण गरिए ।

सडक डिभिजनलाई अतिक्रमण गर्नेहरुले टेरेनन् वा डिभिजनले तिमीहरुले नटेरे पनि हुन्छ भन्ने संकेत दियो वा अतिक्रमण गर्नेलाई नरोक्नू भन्ने प्रत्यक्ष अप्रत्यक्ष दबाब आयो । अथवा अतिक्रमण गर्नेहरु राज्यभन्दा शक्तिशाली भए । यी चार कारणबाहेक अरु के हुन सक्लान् र ? देख्दादेख्दै र सञ्चार माध्यममा अतिक्रमणबारे समाचार प्रकाशित हुँदाहुँदै पनि दुईवटा पक्की संरचना सडकमै तयार भइसके ।

सडक डिभिजन भने अतिक्रमण हटाउनु भन्ने पत्र लेख्दै बस्यो । सडक क्षेत्रमा बनेको संरचना हटाउन अल्टिमेटमसहित सार्वजनिक सूचना निकाल्यो । तर डिभिजनको सूचना कसैले टेरेनन् ।

विभिन्न राजनीतिक दलहरुले पुरानो मन्त्रिपरिषद्को निर्णय देखाउँदै गणेशमान चोकदेखि कारकाँदो चोकसम्मका संरचना हटाउन नपाइने भन्दै चेतावनी दिन भ्याए । त्यही चेतावनीको डरले पनि हुनसक्छ, डिभिजनले आँखैअघि भइरहेको अतिक्रमण पनि रोक्न सकेन । डिभिजन सडकलाई अतिक्रमण हटाउन सहयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय पनि मूकदर्शक बनिरह्यो ।

सडक डिभिजनले सुरुमा पुस मसान्तभित्र सडकको अतिक्रमण हटाउन अनुरोध गर्दै उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयले नै हटाउने भन्दै सूचना जारी गरेको थियो । तर दिइएको अल्टिमेटम कसैले मानेनन् ।

त्यहीबीचमा नेकपा एमालेका नेता पशुपतिदयाल मिश्र र नेपाली कांग्रेस नगर कार्यसमितिले मन्त्रिपरिषद्को पुरानो निर्णय देखाउँदै अतिक्रमण हटाउन नमिल्ने तर्क गरे । सूचना जारी गरेर अल्टिमेटम दिएको सडक डिभजन त्यसपछि थप हच्कियो । अहिले झन चुनावमा केन्द्रित दललाई अतिक्रमण हटाउने विषय चुनावी खुराक बन्ने र उनीहरु अतिक्रमण हटाउन अवरोध बन्ने प्रवल सम्भावना छ ।

सुर्खेत रोडलाई ६ लेनको बनाउने भनिए पनि विस्तार गर्ने क्रममा संरचना भत्काउन स्थानीय तयार नभएको र तत्कालीन विवाद साम्य पार्न जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडकको ६ मिलोमिटरबाहेक अरु चारलेन मात्रै निर्माण गरिएको थियो । सुर्खेत रोड क्षेत्रमा सर्वसाधारण, व्यापारीदेखि सरकारी कार्यालयका आठ सय ६ वटा संरचना बनेका तथ्यांक डिभिजनले संकलन गरेको छ ।

सरकारी निकायले नै सडक क्षेत्रमा संरचना निर्माण गरेका छन् । नेपालगन्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सशस्त्र प्रहरी कार्यालयले सडक अतिक्रमण गरी बाउन्ड्री वाल लगाएका छन् । सडक डिभिजन छेउमा नेपालगन्ज उपमहानगरपालिकाले सडक क्षेत्रमै चिल्ड्रेन पार्क बनाएको छ ।

सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुवैतर्फ ६–६ मिटर क्षेत्र भित्रमा कुनै पनि संरचना निर्माण गर्न नदिने गरी निषेध गर्ने एवम् त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ ।

आज सर्वपक्षीय छलफल हुँदै

नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्म सडक क्षेत्रमा बनेका संरचना हटाउनेबारे आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय छलफल हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको पहलमा सडक अतिक्रण हटाउन साझा धारणा निर्माण गर्न छलफल आयोजना गरिएको जनाइएको छ ।

सबै राजनीतिक दल, सडक डिभिजन कार्यालय र सरोकारवालाका प्रतिनिधि सम्मिलित छलफल आयोजना गरिएको प्रजिअ खत्रीले जनाए । उनले छलफलबाट अतिक्रमण हटाउन सबैको ऐक्यबद्धता प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ८, २०७८     11:33:20 AM  |