कोहलपुरमा थुप्रिएको फोहोर युवाहरुले उठाउन थाले, आज साँझ समेत उठाइने



नेपालगन्ज ।

बाँकेको कोहलपुरमा दुई सातादेखि थुप्रिएको फोहोर युवाहरुको एक समूहले व्यवस्थापन गरेको छ । फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको भन्दै उनीहरुले शनिबार फोहोर व्यवस्थापन गरेका हुन् । लामो समयसम्म फोहोर व्यवस्थापन नहुँदा कोहलपुर कुरुप बन्दै जानुका साथै बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।

गर्मीयाम बढेसँगै फोहोर नउठ्दा संक्रमणको जोखिम रहेको र राष्ट्रिय रुपमा कोहलपुरको बेइज्जत हुन थालेपछि आफूहरुले फोहोर उठाएको युवा अर्जुनजंग शाहले बताए । कोहलपुर दुर्गन्धित बन्दै गएपछि व्यक्तिगत लगानीमा फोहोर उठाइएको हो । ‘हाम्रो स्थानीय सरकारले फोहोर उठाउन चासो दिएन । छरपष्ट फोहोरको चर्चा राष्ट्रिय रुपमा हुन थाल्यो,’ उनले भने, ‘अब युवाहरु सक्रिय हुनुपर्छ भन्ने भयो ।

स्वतः युवाको जमात सडकमा आएका छौँ । अब हामी उठाउँछौ ।’ शनिबार साँझ कोहलपुर मुख्य बजार क्षेत्रमा २५/३० जनाको समूहमा रहेको युवाहरु आएर फोहोर संकलन गरेका थिए । फोहोर संकलनमा सहभागी अर्का युवा सन्जु पन्तले नगरपालिका थप फोहोर नहोस र अझै राष्ट्रिय रुपमा बेइज्जती सहन नपरोस् भनेर कुचो बोकेर सडकमा आएको बताए । ‘फोहोर नउठेको धेरै भयो ।

यसको विषयमा काठमाडौँमा समेत कुरा उठ्न थाल्यो,’ उनले भने, ‘बिहान साथीहरुसँग सल्लाह भयो । अरु साथीहरु पनि तयार भए । दिनभर गरेर दर्जनौ युवा तयार भए । अनि फोहोर संकलन सुरु गरेका हौँ ।’ उनका अनुसार नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिए आफूहरुको समूहले दैनिक बजार क्षेत्र सकेजती सफा गर्नेछ ।

नेपालगन्ज कोहलपुर सडक क्षेत्रमात्रै नभएर दशविगाहा लगायतका सबै क्षेत्रमा फोहोर व्यवस्थापन गरिने उनको जानकारी दिए । शनिबार मात्रै उक्त समूहले पहिलो दिन दुई ट्याक्टर फोहोर संकलनका साथै सरसफाई समेत गरेको थियो । फोहोर व्यवस्थापनमा खटिएका युवा पन्तले सफाईको लागि आवश्यक कुचो र पञ्जा पनि सहयोगीहरुले सहयोग गरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार