आज पहाडमा होली, तराईमा भोलि : नेपालगन्जमा बढ्यो होलीको रौनक



वीरेन्द्र जैसी ,नेपालगन्ज,
रङहरुको पर्व होली आज मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवम् पहाडी जिल्लामा होली मनाइँदैछ । होलीअर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईका जिल्लामा भने भोलि शुक्रबार भव्यताका साथ मनाइन्छ ।
मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।


त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । गत वर्ष कोभिड–१९ (कोरोना भाइरस) को जोखिमका कारण उल्लासमयरुपमा होली नखेलिए पनि यस वर्ष भने थप उमंग हुने अपेक्षा गरिएको छ । स्थानीय प्रशासनहरुले पनि होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध गरेका छन् ।
साथै बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरा, बर्दियाका गुलरिया, बाँसगढीलगायतका क्षेत्रमा होलीको रौनक बढेको छ ।

विशेष सुरक्षा योजना
बाँके प्रहरीले होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना बनाएको छ । होली लक्षित सुरक्षाबारे बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा जिल्लाका सबै धर्मका धर्मगुरु, सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने काममा सदाझै सहयोग गर्न प्रहरी र प्रशासनले धर्मगुरुहरुलाई आग्रह गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । होली लक्षित सुरक्षाका लागि जिल्लामा करिब एक हजार तीन सय बढी सुरक्षाकर्मी खटिने एसपी अधिकारीले जनाए । जिल्लामा करिब एक हजार सुरक्षाकर्मी अहिले पनि खटिएकोमा थप तीन सय बढी प्रहरी पनि मगाएर सुरक्षा व्यवस्था कडा बनाइने उनको भनाइ छ ।
होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन योजना तयार गरिएको अधिकारीले जानकारी दिए । उच्छृंखल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गतिमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा दुईजनाभन्दा बढी सवार गरी चलाउने, रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी निर्देशन दिइएको एसपी अधिकारीले बताए । अधिकारीले सबैलाई होली पर्व मनाउँदा अर्काको अधिकार हनन नहुने गरी हर्षाेल्लासपूर्वक मनाउन अपिल गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार