नेपालगन्ज, बाँकेको खजुरामा स्थापना गर्ने भनिएको प्रादेशिक प्राविधिक विश्वविद्यालय अन्त नसार्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । प्रादेशिक विश्वविद्यालय स्थापना संघर्ष समितिका संयोजक एवं लुम्बिनी प्रदेश सभा सदस्य आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बाँकेवासीको मागलाई बेवास्ता गरी सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक विश्वविद्यालय स्थापना संघर्ष समिति कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने उल्लेख गरिएको छ ।
साथै उक्त आन्दोलनले निम्त्याउने प्रतिकुल परिस्थितिप्रति प्रदेश सरकार एवं योजना आयोग स्वयं जवाफदेही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
डेलिगेसन टोलीले ज्ञापन पत्र बुझाउनुका साथै लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसंग खजुरामै विश्वविद्यालय बनाउने विषयमा छलफल पनि गरेको छ । छलफलका क्रममा आवश्यक जग्गाको उपलब्धता भए बाँकेको खजुरामै प्रदेश विश्वविद्यालय बन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीले आश्वस्त पारेका छन् ।
डेलिगेसन टोलीका सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले विश्वविद्यालयका लागि आवश्यकताका आधारमा थप जग्गा उपलब्ध गराउने मूख्य मन्त्री तथा योजना आयोगका उपाध्यक्ष समक्ष प्रतिबद्धता जनाएका छन् ।
टोलीले विश्वविद्यालयका विषयमा भएका प्रगति र पछिल्लो समय लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई योजना आयोगले विभिन्न बाहना गरी अन्यत्र सार्ने दुष्प्रयासका विषयमा जानकारी दिन पत्रकार सम्मेलन समेत गरेको थियो ।
डेलिगेशन टालीमा संघर्ष समितिका संयोजक पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष कक्षपति, शिक्षक नेता कविन्द्र भट्टराई, लेक प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्