कोहलपुर नगरपालिका–११, नम्बर वडा कार्यालयलाई व्यक्तिगत घटना दर्ता गर्न परिपत्र गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वडा कार्यालयलाई व्यक्तिगत घटना दर्ता गर्न परिपत्र गरेको हो । गत फागुन ८ गते विभागकी निर्देशक विनिता भट्टराईले वडा कार्यालयलाई परिपत्र गरेकी हुन् ।
वडा कार्यालयको क्षेत्राधिकारभित्र पर्ने जग्गामा बसोबास गर्दै आएका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीको व्यक्तिगत घटना दर्ता गर्न विभागले गरेको परिपत्रमा उल्लेख छ । वडाले उनीहरुको व्यक्तिगत घटना दर्ता नगर्दा राज्यको सेवा सुविधाबाट समेत वञ्चित रहेको भन्दै वडा कार्यालयलाई बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता गर्न परिपत्र गरेको हो ।
विभागले गरेको परिपत्र कोहलपुर नगरपालिकालाई समेत बोधार्थ पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशमा विभागले वडा कार्यालयलाई अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीको व्यक्तिगत घटना दर्ता गरिदिन परिपत्र गरिएको विभागले जनाएको छ ।
वडालाई गरिएको परिपत्रमा अखिल नेपाल सुकुम्बासी संघ बाँकेको पहलमा विभागको चलानी नम्बर १५२२ मिति २०७८ फागुन ८ गते लेखेको पत्रमा कोहलपुर नगरपालिकाको नाममा पुनरावेदन अदालत नेपालगन्जबाट २०७१ भदौ ११ गते परमादेश जारी भएको र सर्वाेच्च अदालतको २०७४ भदौ ४ को फैसला र आदेशबाट परमादेश सदर भएको समेत उल्लेख छ ।
वडा कार्यालयले शान्तिनगरमा बसेका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीको व्यक्तिगत घटना दर्ता गरिदिएको थिएन ।
विभिन्न कारण देखाउँदै वडा कार्यालयले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्न मानेको थिएन ।
‘अझै पनि सम्मानित अदालतको फैसला र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन कार्यान्वयन नभए अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीलाई अन्याय हुन्छ,’ अखिल नेपाल सुकुम्बासी संघ बाँकेका अध्यक्ष तिलकराज सिँजापतिले भने, ‘अदालत र विभागको निर्णय र निर्देशन चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्छ ।’
शान्तिनगरमा करिब सात सय बढी अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीको बसोबास रहेको बताइन्छ । यता कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अदालतको आदेश र विभागको निर्देशन कार्यान्वयन गरिने बताए ।










प्रतिक्रिया दिनुहोस्