मैदानमा लहरै १५ टेबल । टेबलमाथि विभिन्न रङले सजिएका थिए, सामग्री । झट्ट हेर्दा महोत्सव लागे जस्तो देखिन्थ्यो । मानौँ, व्यापारीले बेच्नलाई राखिरहेका छन्, खेलौना । तर, त्यहाँ न महोत्सव थियो, न त बेच्न राखिएका खेलौना नै । त्यहाँ त विद्यार्थीहरुलाई पढाउँदा प्रयोग गरिने शैक्षिक सामग्री थिए, त्यो पनि विषयगत शिक्षक आफैँले हातले बनाएका ।
बिहीबार बर्दियाको ठाकुरबाबा–१ भुरिगाउँस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा बेग्लै रौनक थियो । जहाँ शिक्षकले बनाएका सामग्री प्रर्दशनका लागि राखिएको थियो । त्रिभुवन नमुना माध्यमिक विद्यालय ठाकुरबाबा–१, भुरिगाउँका शिक्षकहरुले आफैँले निर्माण गरेका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखेका थिए ।
प्रदर्शनीमा बालविकास कक्षादेखि १२ कक्षासम्म नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक, स्वास्थ्यलगायतका विषय पढाउँदा आवश्यक पर्ने शैक्षिक सामग्रीहरु स्टलमा राखिएको थियो ।
शिक्षकहरुले तयार परेका सामग्रीहरु अवलोकन गर्न विद्यार्थी, अभिभावक, राजनीतिकर्मी, शिक्षा प्रेमी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकको भीड देखिन्थ्यो । अवलोकनमा आएका व्यक्तिहरुलाई शिक्षकहरुले सामग्रीको प्रयोग विधि र सिकाइ क्रियाकलापका बारेमा जानकारी गराएका थिए । अवलोकनकर्ताहरुले बडो रुचीका साथ सामग्रीको अवलोकन गरिरहेको देख्न सकिन्थ्यो ।
सामग्री प्रदर्शनीमा आएका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले शिक्षकले निर्माण गरेका सामग्रीको प्रशंसा गरे । उनका अनुसार शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ रुचिकर हुन्छ । यस्ता प्रयोग सबै विद्यालयमा लागू गर्नुपर्नेमा जोड दिए । यस्तै यस्तो विधिलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यमूलक सिकाइ विधिबाट मात्र शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने भन्दै विद्यालयका शिक्षकहरुले शैक्षिक सामग्री निर्माण गरेका हुन् । सबै शैक्षिक सामग्रीहरु एक ठाउँबाट अर्को ठाउँमा लैजान नमिल्ने खालका थिए । खेल तथा अन्य विभिन्न माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिने गरी सामग्रीहरु निर्माण गरिएका थिए ।
पढाउने विषयवस्तुलाई कक्षा कोठामा बाहिर प्रत्यक्ष देखाएर वा छोएर पढाउँदा शिक्षण सिकाइ क्रियाकला पनि प्रभावकारी हुने र त्यो सिकाइ दीगो पनि हुने भएकाले सामग्री निर्माण गरी पठनपाठनको अभ्यास गर्न लागिएको त्रिभुवन नमुना माध्यमिक विद्यालयका शिक्षक रोमहर्ष नाथ योगीले बताए ।
उनी भन्छन्, ‘शैक्षिक सामग्री प्रयोग गरेर पठनपाठन गर्दा विद्यार्थीले विषयवस्तु छिटो बुझने र ज्ञान सीप पनि दीगो हुन्छ । त्यसैले पाठ्यपुस्तकसँगै सामग्रीको प्रयोगलाई जोड दिएका छौँ ।’ विद्यालयले शैक्षिक सुधार गर्न विद्यालयमा कार्यमूलक सिकाइ र परियोजना कार्यमा आधारित सिकाइ विधि अपनाउने योजना बनाएको छ । यसका लागि शिक्षकहरुलाई तालिम पनि प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नन्दाराम अधिकारीले बताए ।
‘विद्यार्थीलाई प्रदान गरिने ज्ञान सीपलाई दीगो प्रभावकारी बनाउन कार्यमूलक सिकाइ र परियोजना कार्यमा आधारित सिकाइ विधिलाई जोड दिने योजना बनाएका हौँ,’ उनले भने । यो विधिमा पाठ्यपुस्तकभन्दा पाठ्य सामग्री नै बढी प्रयोग हुने प्रधानाध्यापक अधिकारीले बताए ।










प्रतिक्रिया दिनुहोस्