भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिउँसोको समयमा विभिन्न गाउँमा पुगेर कुखुराको चल्ला बिक्री गर्थे । उनले काम बाँके र बर्दियाका विभिन्न गाउँमा चल्ला बिक्री गर्ने मात्र थिएन विभिन्न घरहरुको सबै जानकारी (रेकी) गर्ने कामसमेत थियो ।
केही दिनअघि बाँकेमा साथीसहित पक्राउ परेका मनिहारको काम दिनभर कुखुराका चल्ला बिक्री गर्ने र रातको समयमा चोरी गर्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले दिनभरि चल्ला बेच्ने र रातिमा डाँकाचोरीमा भारतीयहरु संग्लन रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
‘मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे,’ उनले भने, ‘चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने जानकारी लिएर राति साथीहरुलाई बोलाएर चोरी गर्ने गरेको खुलेको छ ।’ बाँके प्रहरीसमक्ष मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताएका छन् ।
कुखुराका चल्ला बेच्ने बाहनामा घर, धन, सम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न बाँके र बर्दियाका विभिन्न गाउँमा पस्ने गरेको प्रहरी बताउँछ । केही दिनअघि बाँकेको जानकी गाउँपालिकामा मनिहार साथीसँगै एक स्थानीय घर लुट्दै गर्दा गाउँलेको कब्जामा परेका थिए ।
गाउँहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुको चोरी–डकैती गर्ने तरिका पर्दाफास भएको हो । मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८, शीतला बजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए ।
माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरी भएको बाँके प्रहरीले जनाएको छ ।
माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया गाउँलेको कब्जामा परेका थिए । प्रहरीलाई मनिहारले बताएअनुसार रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् ।
घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयासमा आफूहरु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
‘चोरी गर्नको लागि उनीहरु बाँके र बर्दियाका छोटी नाकाबाट १०–११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गरेको खुलेको छ,’ उनले भने, ‘खजुरामा चोरी गर्दा चारजना र बर्दियामा ६ जनाको समूह आएको उनीहरुले बयान दिएका छन् ।’
यो डाँका टोलीसँग कटुवा पेस्तोल रहेको बाँके प्रहरी बताउँछ । उनीहरुले पेस्तोलको कारोबारसमेत गर्ने प्रहरीको दाबी गरेको छ । डाँकाचोरी टोलीका अकिल साई भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ छन् । मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्धामा लागेको बयान दिएका छन् । भारतमा उनीविरुद्ध आठवटा मुद्दा रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्