दाङ ।
तुलसीपुरमा रहेको एक घरमा आगलागी हुँदा बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५, ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा शुक्रबार बिहान एक बजेतिर आगलागी भएको थियो ।
शुक्रबार बिहान आगलागी हुँदा धुँवामा निसास्सिएर पाँचजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए ।
मृत्यु हुनेमा पसलका मालिक ४० वर्षीय नगरदिन अली, ५ वर्षीय छोरा अबिददिन अली, १३ वर्षीया छोरी सुजिता खातुन तथा सुर्खेत घर भइ तुलसीपुरको तुलसी बोर्डिङ चोक नजिकैको रोडमा बस्दै आएका दाजुभाई १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकस रहेका छन् ।
उनीहरूकी आमा भने बाँच्न सफल भएको तुलसीपुर प्रहरीले जनाएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले पाँच घण्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए ।
आगो नियन्त्रणमा लिएपछि मात्र मृतकहरुको शव निकालिएको डिएसपीले अर्यालले जनाए ।
नगरदिनको पुख्र्याैली घर अर्घाखाँची भए पनि लामो समयदेखि उनीहरू तुलसीपुरमा भाडामा बस्दै आएका थिए । सोही पसलमा काम गर्ने तुलसीपुर–९ दोघरेका ४५ सुकलाल बस्नेत भाग्यले जोगिएका हुन् । उनी मस्त सुतिरहेको समयमा कसैले तानेर आगलागी भएको भन्दै ब्युँझाएका थिए । बस्नेतका अनुसार उनीसहित ६ जना राति अर्को घरको छतबाट ओर्लिन सफल भएका थिए ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी भएको घरमा जुत्ता–चप्पलको गोदाम थियो । ११ हातको जग्गामा पाँच तलाको घर बनाउनु, त्यसैमा गोदाम राख्नु, गोदाम भएकै घरमा मानिस पनि बस्नुजस्ता कारणले जुत्ता–चप्पलको आगो रातभर प्रयास गर्दा पनि निभाउन सम्भव नभएको प्रहरीले जनाएको छ ।
आगो निभाउन २४ किलोमिटर टाढाको घोराहीबाट पनि वारूण यन्त्र मागिएको थियो । स्मार्ट भनिने सिटीमा विपतको समयको पूर्वतयारी नभएका कारणले पाँचजनाले ज्यान गुमाउनु परेको तुलसीपुरवासी बताउँछन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले कम क्षेत्रफल भएको घरमा भविष्यलाई नसोची जति सक्यो ठूलो घर निर्माण गर्नु, यस्ता विपत हुँदा काम लाग्ने गरी पछाडि कुनै ठाउँ वा निकास नछोड्नुले गर्दा पनि क्षति भएको बताए ।
यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार एक दिनका लागि शोकमा तुलसीपुर बजार बन्द गराएको थियो । वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पाँचजनाको मृत्युको शोकमा एकदिन बजार बन्द गरिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्