बर्दियाका पालिका प्रमुखः अधिकांशको फेरी अघोषित दाबी



सञ्जय आचार्य । बर्दिया ।

सरकारले स्थानीय तहको चुनाव घोषणासँगै गाउँगाउँमा चुनावी बहस र छलफल सुरु भएको छ । यतिमात्र होइन, हाल बहालवालादेखि अन्य राजनीतिक व्यक्तिहरुले आफूलाई उम्मेदवारीका रुपमा व्यक्त गर्न थालेका छन् । बर्दियाका आठवटा स्थानीय तहका प्रमुखहरुले पनि अघोषितरुपमा आफूलाई प्रमुखको उम्मेदवारीका रुपमा तयारी गरिरहेका छन् ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ पार्टीले पुनः जिम्मेवारीमा दोहोरिने निर्णय गरेर आफू उम्मेदवार हुने तयारीमा रहेको बताउँछन् । ‘मेरो ईच्छाभन्दा पार्टीको कुरा हो,’ उनले भने, ‘पार्टीले जिम्मेवारी दिए पुनः जिम्मेवारी सम्हाल्छुँ ।’ उनको कुराले पनि प्रष्ट हुन्छ की उनी पुनः उम्मेदवारीको तयारी गरिरहेका छन् ।

उनको जस्तै प्रतिक्रिया बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले पनि व्यक्त गरे । अबको नेतृत्व जनताप्रति पारदर्शी, उत्तरदायित्व बोध भएको सरल र सहजसँगै गतिशिल हुनुपर्ने भन्दै उनले भने, ‘संविधानले पुनः दोहोरिने बाधा गरेको छैन । पार्टी र जनताले चाहे पुनः दोहोरिन्छुँ ।’ आफूले सुरुवात गरेका कामहरुलाई पूर्णता दिन र बाँकी, अँधुरा कामलाई सफलता प्राप्त गर्न उनी पुनः स्थानीय तहको प्रमुखमा दोहोरिन चाहान्छन् ।

यता गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले पुनः दोहोरिने ईच्छा व्यक्त गरे । अहिले जनताको भरोसायोग्य काम गरेकाले पार्टी र जनताले चाहेमा दोहोरिने ईच्छा व्यक्त गरे । ‘यस अवधिमा मैले जनताको मन जितेको छुँ,’ उनी भन्छन्, ‘पार्टीले जुन विश्वासका साथ उम्मेदवारी दिएको र आशाका साथ जनताले मत हालेका थिए । त्यसलाई कदर र सम्मान गर्दै मैले सफलतापूर्वक काम गरेको छुँ ।’

अनुभवका आधारमा योग्य भए पनि पछिको परिस्थिति कस्तो हुने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताए । ‘अहिले तत्काल केही भन्न सकिँदैन,’ उनी भन्छन्, ‘यदी अवसर पाए पछाडि पनि हट्दैन ।’

बहालवाला जनप्रतिनिधिनै दोहोरिने ईच्छा व्यक्त गर्न थालेपछि अरुले आफ्नो अवसरलाई कुञ्ठित गर्न खोजेको बताउँदै आएका छन् । पहिला उहाँहरुले जिम्मेवारी सम्हालेको भन्दै यसपालिका उहाँहरुलाई भन्दा राजनीतिक योगदान, योग्यता, क्षमता, इमान्दारीता र कर्तव्यनिष्ठ व्यक्तिलाई छनोट गर्नुपर्ने अन्य राजनीतिक व्यक्तिहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार