चुरे क्षेत्रमा बाघ संरक्षणको नारासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालन गर्न लागिएको छ ।
स्थानीयवासीको आयआर्जनमा सहयोग पु¥याउँदै उनीहरुलाई वन र वन्यजन्तु संरक्षणमा जोड्न यहाँ एकैपटक २१ वटा होमस्टे सञ्चालन गर्न लागिएको हो ।
यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोग हुने छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रको हर्रेकाँडा हुँदै बाँके निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र र भावर क्षेत्रको राप्तीसोनारी मध्यवर्ती क्षेत्रअन्तर्गत गावरसम्म गरी झन्डै तीन घण्टाको पैदल दुरीमा २१ वटा होमस्टे सञ्चालन गर्न लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिए ।
होमस्टे व्यवस्थापन सञ्चालन गर्नुअघि होमस्टे सञ्चालनसम्बन्धी तरिका र नियमहरूको बारेमा जानकारी दिने उद्देश्यसहित होमस्टे सञ्चालन गर्न छनोट भएका २१ जना स्थानीयवासीलाई तीन दिने तालिमसमेत दिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने कर्णाली चिसापानीदेखि बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र फुर्केसल्ली मलई, दाङसम्म झन्डै सात दिनको पदमार्गको समेत प्रारम्भिक सर्वेक्षण सुरु भइसकेको कडरियाले बताए ।
निकुञ्जको उत्तरी क्षेत्रका स्थानीयवासीले खेतबारीमा आएका जंगली जनावर भरुवा भन्दुकको प्रयोगबाट मारेर खाने तथा बेचबिखन गर्ने परम्परागत चलन थियो ।
बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, संरक्षण अभियानमा लागेका संघसंस्था र संरक्षणकर्मीले संरक्षण अभियान सुरु गरेपछि झन्डै ११ वर्षअघि उत्तरी क्षेत्रका स्थानीयवासीले झन्डै दुई सय ५० थान भरुवा बन्दुक निकुञ्जमा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्